Logo

खेलकुद

आईसीसी विश्वकप लिग टु : नामिबियासँग नेपाल ८६ रनले पराजित



काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले आयोजक नामिबियासँग पराजित भएको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाल ८६ रनले पराजित भयो ।

नामिबियाले दिएको २ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८९ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४४ तथा दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ज्ञानेन्द्र मल्ल ३० तथा अर्जुन साउद २९ रनमा आउट भए । आरिफ शेखले १८ रन तथा ललित राजवंशीले ११ रन बनाए । आसिफ शेखले ७ रन बनाए ।

नामिबियाका लागि टांगेनी लुंगामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले समान २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा विकेट गुमाएर २ सय ७५ बनायो ।

नामिबियाका लागि मिचेल भान लिन्गेनले १ सय ११ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय १९ रनको शतकीय ईनिङ खेले । कप्तान ग्रहार्ड इरास्मसले ७६ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले । जान निकोल ४० तथा डेभेन ला कक १८ रनमा आउट भए ।

नेपालका लागि ललित नारायन राजवंशीले ४ तथा सोमपाल कामीले २ र सागर ढकालले १ विकेट आफ्नो नाम गरे । यस सिरिजमा नेपालको अन्तिम खेल बिहिबार स्कटल्याण्डसँग खेल्ने छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार २१:०३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।