काठमाडौं । अर्जेन्टिनि सुपरस्टार लियोनेल मेसीले नेदरल्याण्डसविरुद्धको विश्वकपको क्वाटरफाइनल खेलमा रेफ्रीले राम्रो भूमिका नखेलेको आरोप लगाएका छन् । प्रमुख रेफ्रीको भूमिका निभाएका स्पेनका रेफ्रि एन्टोनियो माटेउ लाहोजले विश्वकप जस्तो प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो भूमिका राम्रोसँग निभाउन नसकेको भन्दै आक्रोशित भएका हुन् ।
अर्जेन्टिना र नेदरल्याण्डसबीचको खेलमा रेफ्रीले कुल १८ पहेलो कार्ड दिएका थिए भने खेल सकिएपछि नेदरल्याण्डसका डेनजेल डमफ्राइजलाई रातो कार्ड दिएका थिए ।
खेलपछि कुरा गर्दै मेसीले भने- ‘ म रेफ्रीको बारेमा कुरा गर्न चाहन्न । किनकी उनीहरु इमान्दार थिएनन् । फिफाले यस बारेमा हेर्नु पर्छ । फिफाले आफ्नो भूमिका निभाउन नसक्नेलाई यति ठुलो खेलमा राख्नु हुदैन ।’
यस खेलमा विश्वकपको इतिहासमै अहिलेसम्मको सबैभन्दा धेरै पहेलो कार्ड दिइएको थियो । यसअघि २००६ मा पोर्चुगल र नेदरल्याण्डसबीचको खेलमा १६ पहेलो कार्ड दिइएको थियो ।
प्रतिष्पर्धात्मक खेलमा अर्जेन्टिनाले नेदरल्याण्डसलाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गरेर विश्वकपको सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा अर्जेन्टिनाले क्रोसियाको सामना गर्ने छ । एजेन्सी




















प्रतिक्रिया