Logo

खेलकुद

विश्वकप सेमिफाइनलमा भिड्दै गरेका अर्जेन्टिना र क्रोएसियाकाे यस्तो छ हेड टु हेड



काठमाडौं । कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । 

क्रोएसियायी र अर्जेन्टिनाले क्वार्टरफाइनलमा क्रमशः ब्राजिल र नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई ४–२ ले हरायो । त्यस्तै, अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई ४–३ ले पराजित गर्‍यो । अर्जेन्टिनाले ८ वर्षपछि विश्वकप सेमिफाइनल खेलिरहेको हो ।

क्रोएसियाले भने लगातार दोस्रोपटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ । 

हेड टु हेडमा कुन टिम अगाडि ? 

हालसम्म अर्जेन्टिना र क्रोएसियाले पाँच खेलमा एकअर्काको सामना गरेका छन् । जसमा दुवै टिमले दुई/दुई खेलमा जित निकालेका छन् ।

अर्जेन्टिना र क्रोएसियाले अहिलेसम्म एक खेलमा भने बराबरी खेलेका छन् । यी दुई टिमले सन् १९९० मा पहिलोपटक एकअर्काविरुद्ध खेलेका थिए । सो खेल गोलरहित बराबरीमा सकियो । त्यसपछि अर्जेन्टिना र क्रोएसियाले सन् १९९८ मा एकअर्काविरुद्ध खेले । सो विश्वकप  खेलमा अर्जेन्टिनाले क्रोएसियालाई १–० ले हरायो ।

१९९८ पछि अर्जेन्टिना र क्रोएसियाले २००६ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेले । जहाँ क्रोएसियाविरुद्ध अर्जेन्टिना ३–२ ले पराजित भयो । त्यसपछि यी दुई टिमले २०१४ मा पनि मैत्रीपूर्ण म्याचमा प्रतिस्पर्धा गरे । सो खेलमा भने क्रोएसियाविरुद्ध अर्जेन्टिना २–१ ले विजयी भयो ।

अर्जेन्टिना र क्रोएसियाले २०१८ को विश्वकपमा पनि एकअर्काविरुद्ध खेले । सो समूह चरणको खेलमा क्रोएसियाविरुद्ध अर्जेन्टिना ३–० ले स्तब्ध भयो । 

जारी विश्वकपमा क्रोएसिया अर्जेन्टिनाविरुद्ध गत संस्करणकै जित यात्रालाई कायम राख्ने सोचमा छ । उत्कृष्ट लयमा रहेको अर्जेन्टिना गत विश्वकपको हारको बदला लिँदै फाइनलको यात्रा गर्ने योजनामा छ । 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार ०७:०८   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।