Logo

अर्थ

चालु पुँजी कर्जाम्बन्धी मार्गनिर्देशन स्थगन गर्न अर्थमन्त्री पौडेललाई चेम्बरको आग्रह



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग बिहिबार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको टोलीले अर्थमन्त्री पौडेलसँग आर्थिक र वित्तिय अवस्थाबारे छलफल गरेको हो ।

अध्यक्ष मल्लले चेम्बरका तर्फबाट बिभिन्न ८ बुँदामा सुझाव समेत दिएका छन् । पुँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालुपुँजी कर्जासम्वन्धी मार्ग निर्देशनको स्थगन लगायतका विषयमा चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

भन्सारको सहजीकरण गरेर राजश्वको दायरा फराकिलो बनाउनुपर्ने भन्दै अध्यक्ष मल्लले बस्तुहरुको आयात निर्यातमा कारोबार मुल्यलाई मान्यता दिनुपर्ने बताए । उनले भने, ‘भन्सार प्रक्रीयामा सन्र्दभ मुल्य कायम हु“दा यसले राजश्व प्रभावित भएको छ र अवैध कारोबारलाई प्रोत्साहन मिलेको छ । सरकारको राजश्व संकलनकार्य समेत प्रभावित भएको छ ।’

अध्यक्ष मल्लले सीमा नाकामा हुने अवैध कारोबार रोकेर भन्सार प्रणालीलाई व्यवस्थित गर्न समेत नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष आग्रह गरे । दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पुरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

राष्ट्रबैंकले ल्याएको चालुपुँजी कर्जासम्वन्धी मार्गनिर्देशन कार्यन्वयन गर्न नीजि क्षेत्र असमर्थ रहेकाले तत्काल स्थगन गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । सो मार्गनिर्देशनले व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष मल्लले बताएका थिए ।

चेम्बरले उठाएको माग सम्वन्धमा आफू गम्भीर भएको अर्थमन्त्री पौडेलले जवाफ दिए । मुलुकको आर्थिक समृद्धि र उन्नतीका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको अर्थमन्त्री पौडेलको भनाइ छ । अर्थतन्त्रमा देखिएका सवै समस्याको समाधानका लागि आफुले पहल शुरु गरेको अर्थमन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १७:०६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।