Logo

खेलकुद

आर्मीलाई पराजित गर्दै संकटा क्लब सेमिफाइनलमा प्रवेश



पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा संकटा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा १ रारा पोखरा गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै संकटा क्लब सेमिफाइनल प्रवेश गरेको हो ।

आज पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो । संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम त्रिभुवन आर्मीका तर्फबाट नवयुग श्रेष्ठले गोल गरे । अब संकटाले फाइनल प्रवेशका लागि एपीएफसँग खेल्नेछ ।

१५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि आर्मीले जागाउन सकेन । १४ औं मिनेटमा बल अगाडि बढाउन प्रयासरत दिनेश हेम्जनलाई संकटाका निशान खड्काले डिबक्स क्षेत्रमा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् ।

त्यसपछि ३५ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले कप्तान सुनिल बलको असिस्टमा गोल गरेका हुन् । खेलको ७३ औं मिनेटमा संकटाका सुरजज्यू ठकुरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । संकटाका मेसुकेले विपक्षी पोस्टमा प्रहार गरेको बल बारमा लागेर फर्किँदा सुरजले सुन्दर फिनिसिङ दिए ।

खेलको अन्तिम समयमा स्टेफन बिनोङले गोल थप्दै संकटाको जित निश्चित गरे । मेसुकेले दिएको पासलाई ‘वन एन वन’मा बिनोङले गोल गरे । पोस्ट नजिक पुगेर आर्मीका टंक बस्नेतले बचाउन प्रयास गरे पनि सफल भएनन् ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १९:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।