काठमाडौं । सरकारी स्वामित्वको सार्वजनिक कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन (एससीटी) हत्याउने प्रयासमा व्यपारिक समूह लक्ष्मी ग्रुप सक्रिय रहेको पाइएको छ । दैनिक उपभोग्य वस्तु नूनको स्रोत नभएको नेपालका सबै नागरिकलाई नुन पुर्याउने उद्देश्यले २०२० साल भाद्र २७ गते स्थापना भएको कम्पनीले अहिले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका मलसमेत बिक्री वितरण गर्दै आएको छ ।
तत्कालिन अवस्थामा यातायातको दृष्टिकोणले समेत सम्पूर्ण जनतालई नून पु–याउनु ठूलो चुनौतीको रूपमा रहेकाले नूनको आपूर्ति व्यवस्थालाई व्यवस्थित र नियमित गर्न तत्कालिन सरकारको स्वामित्वमा रहेन गरी त्यसबेला नूनको कारोबारमा लागेका मुख्य व्यापारीहरूलाई समावेश गरी साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको स्थापना गरिएको थियो ।
समयक्रममा संस्थानले आफ्नो लगानीमा गोरखकाली रबर उद्योग, नेपालकै प्रथम खाद्य उद्योग, नेपाल वनस्पति घ्यू उद्योग, हिमालय खाद्य एवं प्याकिङ उद्योग, नेशनल फाईनान्स, सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाहरूको स्थापना गरेर देशलाई औद्योगिकरणको दिशामा अघि बढाएको थियो । काठमाडौंको कालिमाटीमा केद्रीय कार्यालय रहेको यस कम्पनीमा सर्वसाधारणको ७९ प्रतिशत तथा सरकारको २१ प्रतिशत लगानी रहेको छ ।
अहिले वार्षिक रुपमा राम्रो मुनाफा आर्जन गर्दै आएको यस कम्पनी हत्याउन अहिले व्यापारिक समूह लक्ष्मी ग्रुप लागिपरेको देखिएको हो । मीठाई, दुध, प्लास्टिक, अटोमोबाइल, इलेक्ट्रोनिक्स, स्टिल र अन्य विभिन्न क्षेत्रमा लगानी गर्दै आएको लक्ष्मी ग्रुपले पछिल्लो पटक कम्पनी नै हत्याउने उद्देश्य राखेर साल्ट ट्रेडिङ कर्पोरेशनको सेयरमा लगानी गरेको आरोप छ । लक्ष्मी ग्रुपले साल्ट ट्रेडिङको प्रतिकित्ता १० हजार रुपैयाँभन्दा बढी मूल्यमा लाखौं कित्ता सेयर खरिद गरेको हो ।
सरकारी स्वामित्वको साल्ट ट्रेडिङले रहेक वर्ष राम्रो मुनाफा आर्जन गर्दै आएको कम्पनी हो । वार्षिक रुपमा कमाउने नाफासँगै साल्ट ट्रेडिङको देशका विभिन्न स्थानमा जग्गासमेत रहेको छ । यी सबै हत्याउने उद्देश्य अनुरुप लक्ष्मीले साल्ट ट्रेडिङमा लगानी बढाउँदै लगेको स्रोतको दाबी छ । ‘लक्ष्मी ग्रुप विस्तारै साल्ट ट्रेडिङ कर्पोरेशन हत्याउने खेलमा लागेको देखिन्छ’, उच्च स्रोतले भन्यो, ‘त्यसैका लागि ट्रेडिङको सेयरमा लक्ष्मी ग्रुपले करोडौं लगानी गरिसकेको देखिन्छ ।’
काठमाडौंको कालीमाटी, मकवानपुरको हेटौंडा, बाँकेको नेपालगंज, पर्साको वीरगंज लगायतका विभिन्न ठाउँमा टेडिङको अर्बौं मूल्यका जग्गा छन् । ती जग्गा लक्ष्मी ग्रुपको निशानामा रहेको स्रोतको दाबी छ ।
अहिले साल्ट ट्रेडिङको संचालकमा समेत लक्ष्मी ग्रुपका तीन जना रहेका स्रोत बताउँछ । ‘विस्तारै साल्ट ट्रेडिङ हत्याउने योजना अनुरुप संचालकमा लक्ष्मी ग्रुपका तीन जना छिरिसकेका छन्’, स्रोत भन्छ, ‘अब सबै कुरा सेटिङमा अघि बढ्ने देखिन्छ ।’
के भन्छ लक्ष्मी ग्रुप ?
लक्ष्मी ग्रुपले आफू साल्ट ट्रडिङ कर्पोरेशनको सेयरहोल्डर भए पनि आरोप अस्वीकार गरेको छ । लक्ष्मी ग्रुपका निर्देशक अञ्जन श्रेष्ठले आफूहरुसँग पव्लिक सेयर रहेको स्वीकारे ।
तर आफूले पव्लिक सेयर खरिद गर्दै हत्याउन खोजेको भन्न नमिल्ने उनको जिकिर छ । ‘पव्लिकमा भाको सेयर त जसले नि किनिहाल्छ नी । सेयर होल्डर त हो हामी’, श्रेष्ठले भने, ‘पव्लिक सेयर किन्दा हत्याउन खोजेको भन्न मिल्छ ?’ लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ हुन् ।



















प्रतिक्रिया