Logo

Technology

टीभीएसको नेपालकै पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालनमा, २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण



काठमाडौं । टीभीएस मोटर कम्पनी र नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालकै पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन ईभी शोरुम सञ्चालनमा ल्याएका छन्।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमबीच टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुम उद्घाटन गरेका हुन्।

शोरुम उद्घाटनसँगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत बाढी प्रभावित क्षेत्रका विभिन्न सरकारी तथा सामुदायिक संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ।

कम्पनीका अनुसार मोटरसाइकल प्राप्त गर्ने संस्थामा नुवाकोट र रसुवाका जिल्ला प्रहरी कार्यालय, कारागार, स्थानीय तह, सरकारी विद्यालय तथा अस्पताल छन्। नुवाकोटको विदुर नगरपालिका, आमाछोदिङ्मो गाउँपालिका र उत्तरगया गाउँपालिकासहितका संस्थालाई मोटरसाइकल प्रदान गरिएको हो।

कम्पनीले बाढी प्रभावित समुदायमा सेवा प्रवाह, आवागमन र पुनःस्थापनाका प्रयासलाई सहज बनाउने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको जनाएको छ।

शोरुम उद्घाटनका अवसरमा बाइक र्‍यालीसमेत आयोजना गरिएको थियो। कार्यक्रममा कलाकार सौगात तामाङले विशेष रूपमा तयार पारेको कस्टमाइज हेल्मेट पनि सार्वजनिक गरिएको थियो। नेपाली कला र सिर्जनशीलतालाई टीभीएसको प्रिमियम ब्रान्डसँग जोड्ने उद्देश्यले उक्त हेल्मेट तयार पारिएको कम्पनीको भनाइ छ।

टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार रहेको बताए। नेपालमा पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालनले नेपाली बजारमा कम्पनीको लगानी र प्रतिबद्धता थप बलियो बनाएको उनको भनाइ छ।

उनले सवारीसाधन बिक्रीमा मात्र सीमित नभई आफूले सेवा गर्ने समुदायमा सकारात्मक प्रभाव पार्न पनि कम्पनी प्रतिबद्ध रहेको बताए। बाढी प्रभावित क्षेत्रका संस्थालाई मोटरसाइकल हस्तान्तरण गर्दा उनीहरूको सेवा पहुँच र कार्यक्षमता बढ्ने अपेक्षा गरिएको उनले उल्लेख गरे।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएससँगको १५ वर्ष लामो सहकार्यले नेपाली बजारमा ब्रान्डको उपस्थिति विस्तार गर्न महत्वपूर्ण योगदान गरेको बताए। बिक्रीपछिको सेवा, ग्राहक सहभागिता र सामुदायिक कार्यक्रममार्फत ग्राहकसँग दीर्घकालीन सम्बन्ध स्थापित गर्न सफल भएको उनको भनाइ छ।

नयाँ शोरुममा टीभीएसका प्रिमियम मोटरसाइकल तथा विद्युतीय सवारीसाधन एकै ठाउँबाट उपलब्ध हुनेछन्। शोरुममा प्रिमियम बाइकका लागि आधिकारिक गियर, एसेसरिज तथा कस्टमाइज हेल्मेटसमेत राखिएको कम्पनीले जनाएको छ।

शोरुममा टीभीएस अपाचे आरटीआर २०० ४भी यूएसडी प्रोजेक्टर, अपाचे आरटीआर १६० ४भी यूएसडी प्रोजेक्टर, टीभीएस रोनिन, टीभीएस रोनिन अगोन्डा, टीभीएस आईक्युब र टीभीएस अर्बिटर उपलब्ध हुनेछन्।

९० भन्दा बढी देशमा उपस्थिति रहेको टीभीएस मोटर कम्पनी विश्वकै तेस्रो ठूलो दुईपाङ्ग्रे सवारीसाधन निर्माता भएको कम्पनीको दाबी छ। जगदम्बा मोटर्ससँगको साझेदारीमार्फत कम्पनीले विगत १५ वर्षदेखि नेपाली बजारमा आफ्ना उत्पादन तथा सेवा विस्तार गर्दै आएको छ।

नयाँ प्रिमियम तथा ईभी शोरुम सञ्चालनसँगै कम्पनीले नेपालमा प्रिमियम मोटरसाइकल र विद्युतीय सवारीसाधनको बजार विस्तार तथा ग्राहक अनुभव सुधार गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार १८:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।