Logo

खेलकुद

नेपाल टी–ट्वान्टी : विराटनगरसँग पराजित फार वेस्ट बाहिरियो



काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई पराजित गरेको छ । फार वेस्टलाई ३ रनले पराजित गर्दै विराटनगरले प्लेअफ सम्भावना कायमै राखेको हो ।

टियु मैदानमा विराटनगरले दिएको १४८ रनको लक्ष्य पछ्याएको फार वेस्टले २० ओभरमा ९ विकेट १४४ रन बनायो । फार वेस्टका लागि कप्तान हशमतुल्लाह शाहिदीले ४६ बलमा ५८ रनको अर्धशतकीय ईनिङ खेले ।

उमर अलि २३ रनमा आउट हुँदा विनोद भण्डारी र नुर अहमद समान १०/१० रनमा आउट हुँदा विराटनगरका लागि राज नानन ३ र सुर्य तामाङले २ विकेट लिए । कियोन जोसेफ र नन्दन यादवले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो ।

विराटनगरका लागि हुसेन तलतले २९ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । विवेक कुमार यादवले २० बलमा अविजित ३५ रन बनाए । अर्जुन साउदले २२ रन बनाउँदा कप्तान रोहित पौडेलले २१ रन बनाए । फार वेस्टका लागि उमर अलिले २ तथा करण केसी र दुर्गेश गुप्ताले समान १/१ विकेट लिए ।

नौ खेलमा चार जित र पाँच हार व्यहोरेको विराटनगरले आजको खेल जितेपश्चात प्लेअफको सम्भावना मजबुत बनाएको छ ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १७:१४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।