Logo

समाचार

‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर




काठमाडौं । महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन ‘ब्रेष्ट’ क्यान्सर रोगको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले यहाँ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले क्यान्सर केयर फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा काँडाघारीस्थित महागुठी परिसरमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा दुई सय महिलाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले महिला समुदायमा जटिल समस्या बनिरहेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको समयमै पहिचान गरी उपचार गराउन र यसको जोखिमबाट बच्न चेतना अभिवृद्धि गर्न शिविर उपयोगी हुने विश्वास व्यक्त गरे । उनले यस किसिमको स्वास्थ्य शिविर नगरपालिकाका सबै वडामा सञ्चालन गर्ने बताए ।

नगरपालिकाले पनि स्वास्थ्य प्रणालीलाई सुधार गर्दै भएका स्वास्थ्य सेवालाई जनमुखी र प्रभावकारी बनाउन नगरपालिकाले सरोकारवाला निकायसँग समन्वय गरेर यस्ता अभियानलाई विस्तार गर्दै लगिने उनले बताए । फाउन्डेसनका परामर्श चिकित्सक डा सरिता घिमिरेले महिलामा जटिल बनिरहेको पाठेघर र स्तन क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले शिविर आयोजना गरिएको बताइन् । उनले भनिन्, “क्यान्सरबाट बचाउन हाम्रो सानो प्रयास हो, त्यसैले यस्ता अन्य अभियानमा पनि हाम्रो सक्रियता रहनेछ ।”

महिलाको स्वावलम्बन, शिक्षा, स्वास्थ्य र क्षमता अभिवृद्धिमा बढी जोड दिन संस्थाले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको जाँच गर्न शिविर सञ्चालन गरिएको महागुठीका अध्यक्ष उदयमोहन श्रेष्ठले बताए । महागुठीले पहिलो पटक यस किसिमको स्वास्थ्य शिविर आयोजना गरेको हो ।

महिलालाई सीपमूलक तालिम

नेपालको पहिलो सामाजिक परोपकारी संस्था १९८३ मा ‘श्री ३ चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी’ का नाममा स्थापना भएको पहिलो परोपरकारी संस्था हो । संस्थाका संस्थापक तुलसीमेहेर श्रेष्ठले ९६ वर्ष पहिला गान्धीको सिद्धान्तबमोजिम स्थापना गरेका संस्थाले खादी तथा घरेलु उद्यम, शिक्षा र स्वास्थ्यका माध्यमबाट गरिब, असहाय, एकल, बेसहारा दीनदुःखी महिलालाई स्वास्थ्य शिक्षा तथा रोजगारका लागि विभिन्न सीपमूलक तालिम उपलब्ध गराउँदै आएको छ ।

संस्थाले स्थापनाकालदेखि हजारौँ महिलालाई सीपमूलक तालिम दिएर स्वावलम्बी बनाई ५० भन्दा बढी जिल्लामा सेवा दिइरहेको छ । अहिले पनि विभिन्न जिल्लाका करिब ६० महिलाले सीपमूलक तालिम लिइरहेका छन् । संस्थाले आवासीय रुपमा सिलाइबुनाइ, खेलौना र ब्युटीपार्लरको चारमहिने आधारभूत तालिम दिइरहेको कार्यकारी निर्देशक लामिछानेले बताए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १६:२६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।