काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले टी–२० क्रिकेट लिगमा ‘स्पट फिक्सिङ’ भएको प्रमाण र आधार फेला परेको जनाएको छ । पुस ९ देखि २७ गतेसम्म भएको खेलमा फिक्सिङ भएको आशंकामा गृहमन्त्रालयसहितको निर्देशनमा सीआईबीले अनुसन्धान थालेको थियो ।
फिक्सिङको आशंकापछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धान अन्तिम चरणमा पुर्याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु देखिएको जनाएको हो ।
सीआईबीका एसपी सन्जय थापाले क्रिकेट खेलसँग सम्बन्धित व्यक्तिहरुबाट स्पट फिक्सिङमा संलग्न भएको सम्भावना देखिएको बताए । उनले खेलसँग जोडिएका व्यक्तिहरुको संलग्ना देखिएकाले ठ्याक्कै यही व्यक्तिहरु हुन् भनेर किटानी अहिले नै गर्ने बेला नभएको बताए ।
उनले म्याच फिक्सिङ नदेखिएको तर स्पट फिक्सिङको पर्याप्त प्रमाण र आधारहरु देखिएको बताए । स्पट फिक्सिङमा खेलको कुनै समयमा हुने सट्टेबाजी रहेको उनले बताए । छानबिन समितिले प्रतिवेदन बुझाएपछि सीआईबीले सोमबार वा मंगलबारभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।




















प्रतिक्रिया