Logo

खेलकुद

कुशल भुर्तेलको शतकमा नामिबियामाथि नेपालको ऐतिहासिक जित



काठमाडौं । ओपनर कुशल भुर्तेलले ओडिआई सिरिजमा पहिलो शतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा सोमबार नामिबियामाथि जित हासिल गरेको छ । यो ओडिआई क्रिकेट इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेल १ सय १३ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भएका थिए । कुशल जितको लागि तीन रन आवश्यक हुँदा कभरमा क्याच आउट हुन पुगेका थिए । करण केसी १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे । सोमपाल कामीले विजयी चौका प्रहार गरे ।

कप्तान रोहित पौडेल ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रनमा आउट भए । तेस्रो विकेटका लागि रोहित र कुशलले १ सय ३३ रनको शतकीय कीर्तिमानी साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

नामिबियाका फिल्डरले कभरमा क्याच छोड्न पुगेका थिए । रोहितले ३९ रनमा पुनः जीवनदान पाएका थिए । डिप मिडविकेटमा रोहितको सहज क्याच लो ह्यान्डी लरेन्सले छाडेका थिए । नेपालले दोस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको थियो । दोस्रो ओभरको पाँचौं बलमा स्पिनर बेनार्ड शोल्टजले आसिफ शेखलाई शून्यमा बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र मल्ल २५ रनमा जान निकोल लोफ्टी इओटनले एलबीडब्लू आउट गरेका थिए । कुशल मल्ल ६ रनमा ट्रम्पलम्यानको बलमा बोल्ड आउट भए ।

सन्दीप जोरा २४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । नामिबियाका रुबेन ट्रम्पलम्यानले १० ओभरमा ४८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नामिबियाका जेन निकोलले ५।४ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेलेपनि टोलीको हार भने टार्न सकेनन् । उनको यो लगातार शतक हो । दुबै शतक नेपालविरुद्ध हानेका छन् ।

नामिबियाका जेपी कोट्जेले २०१९ मा अमेरिकाविरुद्ध १ सय ३६ रनको इनिङ् खेलेका थिए । माइकलले १ सय १८ बलमा आफ्नो ओडिआई करिअरको तेस्रो शतक प्रहार गरेका थिए । माइकल करण केसीको बलमा डिप मिडविकेटमाथि छक्का हान्ने धुनमा ४७ औं ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका थिए । कप्तान जेरार्ड इरास्मस ७९ बलमा २ चौका र ३ छक्कासहित ५६ रनमा क्याच आउट भएका थिए ।

तेस्रो विकेटका लागि जेरार्ड र लिंगेनले १ सय २४ रनको सानदार शतकीय साझेदारी गरेपछि बलियो योगफलमा पुगेको थियो । कुशल मल्लले ३७ औं ओभरको पहिलो बलमा जेरार्डलाई सन्दीपबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेका थिए । माइकलले ब्यक्तिगत ५६ रनमा जीवनदान पाएका थिए । स्पिनर कुशल मल्लको २६ औं ओभरको अन्तिम बलमा रोहित पौडेलले मिडअनमा माइकलको क्याच छाडेका ५६ रनमा क्याच ड्रप गरेका थिए ।

सन्दीपले आफ्नो स्पेलको दोस्रो बलमै विकेट लिँदै साझेदारी तोडेका थिए । सन्दीपले बलात्कार आरोप लागेपछि गत भदौपछि नेपाली टोलीमा पूनरागमन गरेका हुन् । जान निकोल लोफ्टी ८ र ज्यान फ्रिलिंक १३ रनमा आउट भए । जेन ग्रिनले १९ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए ।

करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर १ विकेट लिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १७:२४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।