Logo

खेलकुद

एकदिवसीय विश्व वरीयतामा सन्दीप लामिछाने ७२ बाट ३१औं स्थानमा उक्लिए



काठमाडौं । एकदिवसीय क्रिकेटको विश्व वरीयतामा नेपालका बलर सन्दीप लामिछानेले फराकिलो छलाङ मारेका छन् । यसअघि एकदिवसीय विश्व वरियतामा ७२औं स्थानमा रहेका सन्दीप नेपालमा हालै सम्पन्न त्रिकोणात्मक सिरिजपछि ३१औं स्थानमा उक्लेका हुन् ।

विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबिया संलग्न श्रृंखला नेपालले क्लिन स्वीप गर्दा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै १३ विकेट लिएका थिए । यही प्रदर्शनको बलमा उनलाई विश्व वरीयतामा अहिलेसम्मकै सबैभन्दा माथिल्लो स्थान प्राप्त भएको छ ।

त्रिकोणात्मक श्रृंखला सुरू हुनुअघि सन्दीप एकदिवसीय वरीयताको ७२ स्थानमा थिए । त्यसबेला उनको रेटिङ प्वाइन्ट ४०० थियो । प्रतियोगितापछि उनले रेटिङ प्वाइन्ट ५३६ पुर्याउँदै ४२ स्थान माथि उक्लिएका हुन् । उनको करिअर बेस्ट रेटिङ प्वाइन्ट भने ५४० रहेको छ, जुन उनले अघिल्लो वर्षको जुलाईमा प्राप्त गरेका थिए । एकदिवसीय वरीयतामा फड्को लगाउने क्रममा सन्दीपले टेस्ट राष्ट्रका कैयन विश्वचर्चित बलरहरुलाई पछि पारेका छन् ।

ब्याटिङतर्फको वरीयतामा नेपाली टीमका कप्तान रोहित पौडेलले ठूलो प्रगति गरेका छन् । घरेलु श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै उनी ६७ औं स्थानमा उक्लिएका हुन् । यो श्रृंखलाभन्दा अगाडि ८२ औं स्थानमा रहेका रोहितले १५ स्थानको फड्को मार्न सफल भए । ब्याटिङ वरीयतामा नेपालका ज्ञानेन्द्र मल्लले पनि स्थान बनाएका छन् । उनी ८६ औं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार ११:३१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।