काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको छ । यूएईको मलिका क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो ।
कप्तान खनालले १ सय १७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १ सय २५ रन बनाए । ओपनर अर्जुन कुमालले १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउदै आउट भएका थिए । अर्जुन कुमाल र कप्तान देव खनालबीच तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी भएको थियो । विशाल बिक्रम केसीले १४ बलमा २३ रन बनाउँदा दिपक डुम्रे १६ बलमा २० रनमा अविजित रहे । दिपक बोहोराले ९ बलमा १९ रन बनाए ।
नेपालका ओपनर दिपक बोहोरा १३ तथा शुक्रबार सिंगापुरविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका आकास त्रिपाटी ३ रनमा आउट भए । कुवेतका हेनरी थोमसले र सहिल काज्मीले समान २र२ तथा जय महेशकुमार मेहता १ विकेट लिए । पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो । कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेत हङकङसँग पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । नेपालले तेस्रो खेल हङकङविरुद्ध २७ तारिखमा खेल्नेछ। चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग अन्तिम खेल खेल्नेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू(१९ विश्वकपका लागि छनोट हुनेछ।




















प्रतिक्रिया