Logo

प्रमुख समाचार

‘सन्दीपलाई धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण छ, पुर्पक्षका लागि थुनामै राख्नुपर्छ’



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दामाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । नाबालिक बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले बहसका क्रममा उच्च अदालतको धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण भएकाले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गरेका छन् । उनीहरुले कसको के योगदान छ भन्दा पनि अपराध के हो भनेर हेर्नुपर्ने तर्क गरे ।

आइतबार नै सरकारी पक्षबाट वकालत गरेका अन्य कानुन व्यवसायीहरुले पनि सन्दीपलाई धरौटीमा छाड्ने आदेश गलत भएको र त्यसले पीडितलाई झन् पीडामा पारेको बताएका छन् । अब सन्दीप पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि इजलासले आदेश गर्ने सम्भावना छ ।

बन्द इजलासमा जारी सुनुवाइमा यसअघि सन्दीपका वकिलहरुले विदेश जाने अनुमतिबारे पहिले सुनुवाइ गर्न माग गरेका थिए । तर इजलासले धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयको निवेदन आइसकेकाले पहिले त्यसैलाई हेर्ने बताएपछि सुनुवाइ सुरु भएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १४:५३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।