काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्नेबारे अनिर्णित छ । यही फागुण २५ मा हुने निर्वाचनमा आठ दलीय गठबनधनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।
राष्ट्रपति निर्वाचनका लागि कांग्रेस र एमाले दुवै दलले सहयोग मागेको तर पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय लिइ नसकेको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । सोमबार बसेको केन्द्रीय समिति बैठकले यसबारे कुनै निर्णय नगरेको उनले जानकारी दिए ।
यस्तै, रास्वपाले सरकारलाई दिएको समर्थन तत्काललाई कायमै राखेको छ । अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने सहमहामन्त्री बुर्लाकोटीले बताए । रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो ।
गत १० पुसमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
यसअघिको गठबन्धनमा रहेको जसपा, जनमत र नागरिक उन्मुक्तिसहित प्रचण्डले राष्ट्रपति चुनावमा कांग्रेसँग गठबन्धन गरेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् भने समर्थन पनि फिर्ता लिएका छन् । रास्वपा भने यसअघि नै सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेको हो ।




















प्रतिक्रिया