काठमाडौं । नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने र पीडितलाई उचित न्याय दिन नेपाल सरकार र गठित आयोगहरू नै जिम्मेवार हुनुपर्ने बताएको छ । आफ्नो कार्य क्षेत्राधिकार अन्तर्गतका विषयहरूमा सरोकारवाला निकायले कार्य गर्ने भएकाले सोही विषयलाई लिएर क्षेत्राधिकारको विवाद सृजना गर्नु जायज नहुने बारको ठहर छ ।
नेपाल बारका तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने उद्देश्यले बिगतमा भएको विस्तृत शान्ति सम्झौता, नेपालको संविधान तथा गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको काम, कर्तव्य र क्षेत्राधिकार उल्लेख भई दुवै आयोगहरूले आफ्नो क्षेत्राधिकार अन्तर्गतका कार्यहरू गर्दै आइरहेको अवस्थामा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने र पीडितलाई उचित न्याय दिने नेपाल सरकार र गठित आयोगहरू नै जिम्मेवार हुन जरुरी छ । आफ्नो कार्य क्षेत्राधिकार अन्तर्गतका विषयहरूमा सरोकारवाला निकायले कार्य गर्ने नै हुँदा सोही विषयलाई लिएर क्षेत्राधिकारको विवाद सृजना हुने गरी भ्रमपूर्ण अभिव्यक्तिहरू प्रकाशित भएको पाइएकोमा यस एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
संविधानतः गठित आयोग एवम् न्यायिक निकायहरूले आ–आफ्नो दायित्व निर्वाह गरी कार्य सम्पादन गर्ने भन्दै बारले ती निकायहरूलाई प्रभावित हुने गरी कुनै पनि गतिविधिहरू नगर्न नगराउन सबैमा आह्वान गरेको छ ।




















प्रतिक्रिया