काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संक्रमणकालीन न्यायको विषय समाधानका लागि सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् । बृहत् शान्तिसम्झौता (२०६३ मंसीर ५)का ३ प्रमुख कार्यभारमध्ये संविधानसभाबाट संविधान निर्माण र सेना समायोजन दुवै पक्षको सहमतिमा पूरा भइसकेको उल्लेख गर्दै तेश्रो कार्यभार सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी छानवीन आयोग मार्फत संक्रमणकालीन न्याय सम्पादनको काम पूरा गर्न बाँकी रहेकोले त्यसका लागि सबै जिम्मेवार बन्न जरुरी रहेको बताएका छन् ।
संक्रमणकालीन न्यायको कुरा उठ्दा माओवादी/पूर्वमाओवादी डराए, उत्तेजित भए भन्ने भाष्य निर्माण र प्रसारित भइरहेकोमा असन्तुष्टि जनाउँदै हिजो मर्न हिँडेकाहरु आज डराए भन्नु कुप्रचार मात्र हुने बताए । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तत्कालीन राज्य (कांग्रेस, एमाले लगायत ७ दल) र विद्रोही माओवादी वीच सन्पन्न’ बृहद शान्तिसम्झौता (२०६३ मंसीर ५)का ३ प्रमुख कार्यभारमध्ये संविधानसभाबाट संविधान निर्माण र सेना समायोजन दुवै पक्षको सहमतिमा पूरा भैसकेका छन् भने तेश्रो कार्यभार सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी छानवीन आयोग मार्फत संक्रमणकालीन न्याय सम्पादनको काम पूरा गर्न बाँकी छ ।’, उनले भनेका छन्, ‘अतः संक्रमणकालीन न्याय सन्पादन गर्ने काम दुवै पक्षको हो माओवादीको मात्र हैन।एउटा पक्षले मात्र चाहेर हुन्न।चाहे पनि सक्दैन ।’
राजनीतिक क्रान्तिको क्रममा मान्छे मर्ने/मारिने जस्तो अप्रिय घटना इतिहासदेखि संसारभर हुने र हुँदै आएको भन्दै उनले एक पक्षबाट मात्र नभई त्यस्तो काम जनयुद्धका क्रममा दुबै पक्षबाट भएको बताएका छन् । ‘राजनीतिक क्रान्तिको क्रममा मान्छे मर्ने/मारिने जस्तो अप्रिय घटना इतिहासदेखि संसारभर हुन्छ र नेपालमा पनि भयो!एक पक्षबाट मात्र हैन दुबै पक्षबाट हुन्छ भयो!’, भट्टराईले भनेका छन्, ‘त्यसैले एक पक्षलाई हत्यारा र अर्को पक्षलाई साधु भन्न मिल्दैन। संख्याकै कुरा गर्ने हो भने स्वतन्त्र पर्यवेक्षकहरूको तथ्यांक अनुसार करिब ८०% राज्य पक्षबाट र २०% विद्रोही पक्षबाट मारिएका छन्। अतःमाओवादीहरू बढी डराए भन्ने कुप्रचारमा कुनै सत्यता छैन! हिजै मर्न हिडेकाहरू ऐले किन डराउने?’
संक्रमणकालीन न्यायको काम ढिलो हुनुमा सबै पक्षले आ–आफ्नो दोष स्वीकार्नुपर्ने बताए । ‘जहाँसम्म कसको कारणले यो प्रकृया ढिलो भयो भन्ने प्रश्न छ हामी सबै सम्बन्धित पक्षले आआफ्नो हिस्साको दोष स्वीकार्नुपर्छ, मेरो भागको म स्वीकार्छु!’, भट्टराईले भनेका छन्, ‘मेरै कुरा गर्दा २०६९ फागुन ३० गते मैले प्रम छोड्दा मन्त्रीपरिषदको अन्तिम निर्णय संक्रमणकालीन न्याय सम्बन्धी अध्यादेश थियो, जसमा पछि मुद्दा पर्यो र अदालतले बर्षदिन धकेल्यो!अतःसबैले ममः भनाैं ! संक्रमणकालीन न्यायलाई हेर्ने दुइ विपरित दृष्टिकोणका कारणले पनि यो विषय नासुर बन्दैगएको हो!’
प्रतिगामी शक्तिहरूले जनयुद्ध/जनक्रान्तिलाई ‘अपराध’ मान्ने गरेका भट्टराईको आरोप छ । ‘देशभित्र/बाहिरका प्रतिगामी शक्तिहरू जनयुद्ध/जनक्रान्तिलाई ‘अपराध’ मान्छन्, शान्तिप्रकृयाको विरोध गर्छन् र द्वन्दकालीन मुद्दाहरू फौजदारी अदालतमा लैजाऔं भन्छन्!’
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वर्ष अघि दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्चमा मुद्दा दयर भएपछि माओवादी धारका सबै नेताहरुबीच छलफल हुँदै आएको छ । उनीहरुले शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने निर्णयसमेत गरेका छन् ।




















प्रतिक्रिया