Logo

प्रमुख समाचार

‘प्रहरीले नागरिकको मुख थुन्न मिल्छ ?’



काठमाडौं । सरकारविरुद्ध मंगलबार प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरी नाराबाजी गर्दा हातले मुख थुनिदिएको विषयमा राष्ट्रियसभामा प्रश्न उठेको छ । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारको जवाफ मागेकी छन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी उनले बैठकमा भनिन्, ‘हिजोदेखि सञ्चारजगत र सामाजिक सञ्जालमा, केही युवाहरुले बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ती मुख थुनेको, घाँटी न्याकिरहेको, लछारपछार पारिरहेको तस्वीरहरु जताततै देख्न पाइएको छ, यो किन भएको हो, ती युवाले के बोल्न खोजिरहेका थिए र प्रहरीले ज्यादती गरेको हो ?’

संविधानले नागरिकलाई स्वतन्त्रतापूर्वक विचार राख्ने पाउने र बोल्न पाउने अधिकार दिएको भन्दै उनले प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गरेकी छन् । उनले अगाडि सोधिन्, ‘गृह मन्त्रालयले यसो गर्ने प्रहरीलाई कारबाही गरेको छ कि छैन ?’

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा केही युवालाई पक्राउ गरेको थियो । त्यस क्रममा नाराबाजी गर्ने युवाको मुख प्रहरीले थुनेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १४:३२   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।