Logo

बैंकिङ

गरिमा विकास बैंकद्वारा नौ स्थानमा रक्तदान, ७१३ युनिट रगत संकलन



चितवन। रगतको अभाव भइरहेका बेला गरिमा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न नौ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१३ जनाले रक्तदान गरेका छन्।

बैंकले विगतका वर्षमा जस्तै यस वर्ष पनि वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको हो। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा ८१, बेनीमा ५०, पोखरामा १३२ र वालिङ शाखामा ५४ जनाले रक्तदान गरेका छन्।

त्यस्तै, बुटवल शाखामा १०१, कोहलपुरमा १०६, नारायणगढमा ८३, जनकपुरमा ४३ र इटहरी शाखामा ६३ जनाले रक्तदान गरेका छन्।

बैंकले गत वर्ष वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६०२ युनिट रगत संकलन गरेको थियो। यस वर्ष भने गत वर्षको तुलनामा १११ जना बढीले रक्तदान गरेका हुन्।

रक्तदान कार्यक्रमको शुभारम्भ सम्बन्धित स्थानका जनप्रतिनिधि, स्थानीय समाजसेवी, बैंकका सञ्चालक तथा उच्च व्यवस्थापन तहका कर्मचारीले गरेका थिए। कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले रगतको अभाव जुनसुकै बेला र जुनसुकै स्थानमा हुन सक्ने भएकाले त्यसलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले प्रत्येक वार्षिकोत्सवमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए।

उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको हित र सामाजिक सेवाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

यसैबीच, बैंकले वार्षिकोत्सवकै अवसरमा गत शनिबार काठमाडौंमा गरिमा ‘रोड रेस’ पनि आयोजना गरेको थियो। ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजित उक्त प्रतियोगिता तेस्रो संस्करण हो।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार २०:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।