काठमाडौं । सत्तारुढ दलहरुबीच प्याकेजमै संघ र प्रदेश सरकारको भागबन्डा गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको गठबन्धनसम्बद्ध दलका दलका शीर्ष नेताहरुबीच प्याकेजमै सरकारको नेतृत्व र पुनर्गठनको विषय टुंग्याउने छलफल भएको हो ।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले प्रदेश सरकारको नेतृत्व र संघीय मन्त्रिपरिषद् विस्तार प्याकेजमै गर्ने विषयमा छलफल भएको बताए । ‘संघीय मन्त्रिपरिषद् र प्रदेशको नेतृत्वको टुंगो सँगसँगै होला । बुधबारको छलफल पनि प्रारम्भिक हो, कुनै निश्चित आकार लिइसकेको छैन । तर, दुई/तीन दिनमा सबै टुंग्याउने भन्ने छ,’ बस्नेतले भने ।
कुन दलले कति मन्त्रालय र कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा प्रारम्भिक छलफल सुरु भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । बैठकमा दलहरुबीच मन्त्रिपरिषद् विस्तारमा प्रारम्भिक छलफलमात्रै भएको कांग्रेसका नेता रमेश लेखकले बताए । सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको र आवश्यकताअनुसार अर्को बैठक बस्ने उनले बताए ।
प्रतिनिधिसभाबाट सोमबार विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । तर, मन्त्रालयको संख्याभन्दा गठबन्धनमा रहेका दलहरुले धेरै मन्त्रालयको दाबी गरेपछि मन्त्रालयको भागबन्डा जटिल बनेको छ ।




















प्रतिक्रिया