दाङ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । नेकपा एमालेबाट लुम्बिनीका मुख्यमन्त्री बनेका लिला गिरीलाई दिएको समर्थन फिर्ताबारे औपचारिक निर्णय गर्न अहिले संसदीय दलको बैठक सुरु भएको माओवादी लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।
गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा एमालेका गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादी केन्द्र, जसपा र जनमत अहिले सरकारमा छन् ।
नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले बाहिरबाट समर्थन गरेका थिए । अहिले फेरिएको सत्ता समीकरण अनुसार यी सबै दल प्रदेश सरकारको विपक्षमा छन् । मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि माओवादीसहितको गठबन्धनमा छ । नेकपा एमालेको पक्षमा राप्रपा मात्रै उभिएको छ ।
नयाँ गठबन्धनमा रहेका दलले समर्थन फिर्ता लिनासाथ गिरी अल्पमतमा पर्नेछन् । गिरीले विश्वासको मत लिन नसके एमाले नेतृत्वको सरकार ढल्ने छ ।




















प्रतिक्रिया