काठमाडौं । भागन्डालाई अन्तिम रुप दिन सत्ता गठबन्धनका दलहरु आज (आइतबार) छलफलमा जुट्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्यका क्रममा सत्ता साझेदार दलहरुसँग मन्त्रालय बाँडफाँटबारे छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डका सचिवालयका एक सदस्यका अनुसार आज साँझ सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल हुन लागेकाे हाे ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले शनिबारको पार्टी पदाधिकारी बैठकमा आइतबार गठबन्धनमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । त्यसका लागि उनले मन्त्रालय भागबन्डाको खाकासमेत तयार पारिसकेको बताएका छन् ।
सो प्रस्तावित खाकाबारे शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आज सबै साझेदार दलहरुसँग छलफल गरेर अन्तिम सहमति जुटाउने तयारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सुरुमा गठबन्धनका दलहरुसँग अलग–अलग छलफल गर्ने र संयुक्त छलफल गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको छ ।
अहिले माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय, कांग्रेस आठ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टी एक राज्यसहित तीन मन्त्रालय, एकीकृत समाजवादी राज्यसहित ३ मन्त्रालय, जसपा २, लोसपा एक, जनमत एक र नागरिक उन्मुक्तिले एक मन्त्रालय लिनेगरी छलफल चलेको छ ।




















प्रतिक्रिया