Logo

प्रमुख समाचार

लुम्बिनी : अल्पमतमा परेका मुख्यमन्त्रीलाई राजीनामा गराउन दबाब, कांग्रेसद्वारा दाबी पेस



रुपन्देही । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई राजीनामाको दबाब दिन कांग्रेसले प्रदेश प्रमुखसमक्ष मुख्मन्त्रीमा दाबी पेस गरेको छ । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले माओवादी केन्द्र, जनमत, जसपा, लोसपासहित आठ पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् ।

माओवादीसहितका सरकार समर्थित दलहरु आइतबारै समर्थन फिर्ता लिँदै मन्त्रीबाट हटेपछि चौधरीलाई मुख्यमन्त्री नियुक्तिको माग सहितको हस्ताक्षर बोकेर प्रमुख प्रमुखसमक्ष पुगेका थिए । संघीय सरकारमा एमाले र माओवादीको गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो । कांग्रेस संसदीय दलका नेता चौधरीले ५४ सांसदको समर्थन आफूसँग रहेको दाबी गर्दै मुख्यमन्त्री नियुक्त हुन निवेदन पेस गरेका हुन् ।

मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन पार्टीहरुले फिर्ता लिएपनि संवैधानिक व्यवस्थाअनुसार उनलाई ३० दिनभित्र प्रदेश संसद्‍मा बहुमत सिद्ध गर्ने समयसीमा रहन्छ । मुख्यमन्त्री गिरीले ३० दिनभित्र प्रदेश संसद्‍मा बहुमत कायम रहेको सिद्ध गर्न नसके उनी स्वतः पदमुक्त हुनेछन् । यसको अलावा मुख्यमन्त्री गिरीले राजीनामा गरेमा मात्रै अर्को मुख्यमन्त्री चयन गर्न मिल्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १६:४०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।