Logo

प्रमुख समाचार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ : सांसद बस्नेत



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद शक्ति बस्नेतले संक्रमणकालीन न्यायासम्बन्धी विधेयकलाई संसद्‌मा प्राथमिकाका साथ अगाडि बढाउनुपर्ने बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा प्रतिनिधिसभाको बैठकमा बस्नेतले संविधानको कार्यान्वयनसँग पनि सम्बन्धित भएकाले विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने बताए ।

‘विधेयकलाई अत्यावश्यक कार्यभारको रूपमा सूचीमा राखेर, ध्यानमा राखेर प्राथमिकताका साथ अगाडि बढेको छ । अघिल्लो संसद्को‌ कार्यकालमा छलफल भएको छ । समितिमा पनि गएर एक राउन्ड छलफल भएको छ । सरोकारवालाहरूसँग व्यापक छलफल भएको छ । समितिको तहबाट, सरकारको तहबाट सरोकारवालाहरूसँग छलफल भएको छ’, उनले भने, ‘जुन गम्भीरता र प्राथमिकताका साथ प्रस्तुत भएको छ, संसद्ले‌ पनि त्यसै अनुसार अगाडि बढ्नुपर्छ ।’

सांसद बस्नेतले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताए । नेपालको शान्ति प्रक्रियाले मुलुकमा द्वन्द्व व्यवस्थापन मात्रै गरेको ठान्न नहुने उनको भनाइ थियो । उनले भने, ‘मुलुकमा विस्तृत शान्ति सम्झौताले द्वन्द्वको व्यवस्थापन मात्रै गरेन, शान्ति कायम मात्रै गरेन, त्यसले परिवर्तनको ढोका खोल्यो । शान्ति सम्झौताका आधारमा आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिराखेका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्र त्यसैको उपलब्धि हो ।’

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगो लगाउन विगतमा सहमतीय प्रणालीबाट अगाडि बढ्ने सहमति भए पनि पछिल्लो समयमा त्यो तोडिएको बस्नेतको भनाइ थियो । त्यसको समीक्षा हुने पनि उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार २१:०६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।