काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनालाई जोडेर जातजाति, भाषा र धर्मबारे फिजाइएका विभिन्न हल्ला गलत भएको दाबी गरेको छ । कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्यांक सार्वजनिक नगरेपछि सामाजिक सञ्जालहरुमा यी तथ्यांकबारे विभिन्न टिक्काटिप्पणी भइरहेका छन् ।
तर, पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धर्मसँग जोडिएर आएका विषय पूर्ण रुपमा गलत, भ्रामक र अन्योल सिर्जना गर्ने खालका भएको कार्यालयले जनाएको छ । कार्यालयका उपप्रमुख तथा प्रवक्ता नेविनलाल श्रेष्ठका अनुसार राष्ट्रिय तथ्यांक कार्यालयमा जनजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता भएका छन् ।
यसमा विज्ञ र संवैधानिक आयोगका प्रतिनिधिसँग कार्यालयले छलफल गरिरहेको छ । यस्तो उजुरी थरलाई जात कायम गर्ने, जात अनुसार मातृभाषा कायम गर्ने, ठाउँ अनुसार भाषा कायम गर्ने, २०६८ सालको जनगणनामा गणना भएका जातजातिलाई जोड्न र कतिपयलाई अलग गर्न उजुरी परेको हो ।
कार्यालयले जातजाति, भाषा र धर्मसम्बन्धी विवरणलाई अन्तिम रुप दिने काम भइरहेको र चाँडै सार्वजनिक गरिने समेत बताएको छ ।




















प्रतिक्रिया