काठमाडौं । नेकपा एमालेले चितवन २ र तनहुँ १ मा उम्मेदवार टुंग्याएको छ । शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो । उनी अनेरास्ववियुको राजनीतिमा स्थापित भएका जिल्लाका युवा नेता हुन् ।
तनहुँ १ मा उम्मेदवार बन्न लागेका खनालको नेपाल प्रहरीका पूर्व आइजिपी हुन् । खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दासमेत हुन् । उनी मङ्सिर ४ को निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार बनेर रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए ।
उता, बारा २ मा भने आइतबार मात्र टुंगो लाग्ने एमाले नेताहरुले बताएका छन् । बारा २ बाट जिल्ला कमिटीले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेल, प्रदेश कमिटी सदस्य राजेश साह र बन्दना सिंहको नाम सिफारिस गरेको छ ।
आगामी १० वैशाखमा यी तीन वटै क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।




















प्रतिक्रिया