Logo

प्रमुख समाचार

रास्वपा चाँडै नै देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रुपमा उदाउँछ : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी छिट्टै देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै लोकतान्त्रिक पार्टीको रुपमा उदाउने दाबी गरेका छन् । केही समूहले आफ्नो र आफ्नाहरुको प्रगतिका लागि राजनीतिलाई दुरुपयोग गरेकाले मात्र जनताले दुःख पाएका भन्दै उनले अब त्यसविरुद्ध रास्वपा उदाउने उनको दाबी छ ।

शनिबार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले डा. स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौं विज्ञ व्यक्तिहरुलाई पार्टीमा स्वागत गर्ने उल्लेख गरे । ‘केही मानिसहरुले, केही समूहहरुले आफ्नो प्रगति, आफ्ना परिवारको प्रगति, आफ्ना वरिपरिका व्यक्तिहरुको प्रगतिको लागि मात्र राजनीतिलाई दुरुपयोग गरेका कारणले मात्र यस देशका मानिसहरुले दुःख पाएका हुन भन्ने कुरा सबैले बुझेका छन् ।्’, उनले भने, ‘अब क्षमतावान मान्छेहरुलाई राजनीतिमा ल्याएर उहाँहरुको विज्ञतालाई सदुपयोग गरेर यो देशको सुन्दर भविष्य कोर्न हामी सक्छौँ ।’

सभापति लामिछानेले कहाँ गएर आफ्नो विज्ञता प्रकट गरुँ भन्ने अन्य विज्ञहरुका लागि पनि पार्टीमा ठाउँ रहेको बताए । उनले अगाडि भने– ‘अहिले देखिएका हामी ३ भाइ देशको लागि अत्यन्तै धेरै क्षमता देखिएका ३ भाइ हैनौँ, यो देशमा त्यस्ता कैयौँ दाजुभाइ दिदी बहिनी हुनुहुन्छ जसका लागि प्रेरणा बन्न सकोस्, कहाँ गएर आफ्नो विज्ञता प्रकट गरुँ भन्नेहरुका लागि हामीले ठाउँ राखेका छौँ । म यहाँहरुलाई संकेत गर्छु कि कैयौँ त्यस्ता क्षमतावान व्यक्तिहरु हाम्रो पार्टीको माध्यमबाट सेवा गर्न तयार भएर बस्नुभएको छ । यो संकेत हो कि राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।’

सभापति लामिछानेले डा.स्वर्णिम वाग्ले, रमेश खरेलसहित गरिएको प्रेस भेटघाट कार्यक्रम जनाउ घण्टी मात्र भएको बताउँदै हजारौं क्षमतावान व्यक्तिहरु पार्टीमा आउन लागेको उल्लेख गरे । उनले रास्वपाले दुईतिहाईको बहुमत ल्याउने पार्टी बन्ने, वाग्ले, खरेल जस्ता व्यक्तिले मन्त्रालय हाँक्ने र त्यहाँ बिचौलिया, भष्टाचारीको प्रवेश निषेध गर्ने व्यवस्थाको आफूले सपना देखेको र त्यो पूरा हुने आधार रहेको बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार १८:०९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।