काठमाडौं । जर्सीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेलमा पहिलो जित हात पारेको छ । नामिबियामा जारी आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा जर्सीले पपुवा न्युगिनी (पीएनजी)लाई पराजित गरि जर्सीले पहिलो जित निकालेको हो ।
जर्सीले पीएनजीलाई ११ रनले पराजित गरेको हो । जर्सीले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याएको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८० रन मात्र बनायो ।
पीएनजीका लागि कप्तान असद भाला,चाल्र्स अमिनी र रिलि हेरुकेले अर्धशतकीय ईनिङ खेले । कप्तान भालाले १ सय ७ बलमा ७५ रन बनाउँदा हेरुकेले ५१ बलमा ५८ रन बनाए । अमिनीले ४७ बलमा ५४ रन बनाए । ओपनर टोनी उराले २९ तथा सेसे बाउले २६ रन बनाए । चाड सोपार १३ रनमा रनआउट भए ।
जर्सीका लागि ह्यारिन्सन कार्लिअन, जुलिस सुमिरराउरी, कप्तान चाल्र्स प्रचाड र इलिट मिल्सले समान २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जर्सीले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९१ रन बनायो । जर्सीका लागि जोस लरेन्सन र असा ट्रिबिले शतकीय ईनिङ खेले । जर्सीको लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाएका लरेन्सनले १ सय ५ बलमा ११ चौका र २ छक्काको सहयोगमा १ सय १४ रनमा आउट भए ।
ट्रिबिले बलमा चौका र छक्काको सहयोगमा अविजित रन बनाए । ह्यारिन्सन कार्लिअनले २६ रन बनाउँदा निक ग्रिनउडले १४ रन बनाए । पीएनजीका लागि चाड सोपार र सिमो कमियले समान २/२ विकेट लिए ।
यो जितसँगै जर्सी २ अंकका साथ पाँचौ स्थानमा रहेको छ । अंक बिहिन पीएनजी अंक तालिकाको पुछारमा रहेको छ । आजको हारबाट पीएनजीलाई विश्वकप छनोटमा स्थान बनाउन तथा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम गर्न कठिन रहेको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।




















प्रतिक्रिया