काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफूमाथिको कारबाही फुकुवा गर्ने निर्णय भ्रमपूर्ण रहेको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले जोशी लगायतको कारबाही फुकुवाको निर्णयपछि एक विज्ञप्ति जारी गर्दै उनले त्यसको खण्डन गरेका हुन् ।
‘१०औँ हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारबाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो, यो सरासर गलत हो । यसप्रति मेरो घोर आपत्ति छ,’ उनले भनेका छन् । यसअघि समस्या समाधानका लागि पटक पटक वार्ता टोली गठन गरी वार्ताको प्रयास गर्दा पनि पार्टीले बेवास्ता गरेको उनको गुनासो छ ।
‘सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टीमा सैद्धान्तिक विचलन ल्याउनेहरूबाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ,’ जोशीको पत्रमा उल्लेख छ । कांग्रेसले आफू र आफूसँग सम्बन्धित मान्छेसँग कुनै सल्लाह नगरी एकलौटी रूपमा गरेको निर्णयलाई मान्न तयार नरहेको उनको भनाइ छ ।
- याे पनि…
कांग्रेसद्वारा पूर्वमन्त्री जोशी र कोइरालासहितका नेताको कारबाही फुकुवा




















प्रतिक्रिया