Logo

प्रमुख समाचार

सरकारकाे साझा न्यूनतम कार्यक्रम आज साँझ ५ बजे सार्वजनिक हुने



काठमाडौं । १० दलीय सत्ता गठबन्धन सरकारले साझा न्यूनतम कार्यक्रम आज (बिहीबार) सार्वजनिक गर्दै छ । बिहीबार बालुवाटारमा बसेको गठबन्धनले साँझ ५ बजे सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरूबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए । उनले साना केही सुझावहरू आज बेलुकी ५ बजेसम्म दल र नेताहरूले दिनसक्ने जानकारी पनि दिए ।

महासचिव गुरुङले भने, ‘राजनीतिक दलहरूको बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो । मोटामोटी रूपमा सहमति भएको छ, सबै बीचमा । सानातिना सुझावहरु केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ । लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मुलभूतरूपमा सहमति भएको छ ।’

कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाएको न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गर्नुअघि गठबन्धनका शीर्ष नेताबाट अनुमोदन गराउन बिहीबार बिहान बालुवाटारमा बैठक बसेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार ११:३९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।