काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीनताबाहेक केही नभएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री नै देशलाई कहाँ लैजाने भन्नेमा अन्योल रहेको बताए ।
‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन’, उनले भने ।
सरकारले १०० दिनको उपलब्धि भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको पन्तले बताए । ‘३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन । यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन्’ उनले भने, ‘न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको उल्लेख छ ।’
१०० दिन पूरा हुँदासम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको भन्दै उनले अहिलेसम्मको उपलब्धि सिद्धान्तहीन र नीतिहीन भएको बताए । ‘जनताले उपलब्धि पाउनुपर्यो, जनताले व्यवहारमा सरकार छ भन्ने देखिनुपर्यो, १०० दिनमा मन्त्रिपरिषद बनाउन नसक्ने, यो उपलब्धिहीन भएको छ, यसले कुनै निकास दिन सकेको छैन’ सांसद पन्तले भने ।
कोही व्यक्ति कति पटक प्रधनमन्त्री भयो भन्ने उल्लेखनीय नहुने भन्दै उनले के काम गर्यो भन्ने महत्वपूर्ण हुने बताए ।




















प्रतिक्रिया