काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ घुस प्रकरणमा मुछिएका छन् । उनले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो बाहिरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीलाई भाग परेको प्रसाईंलाई सुनाउँदै उनले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।
उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति रवि लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् । अडियोमा श्रेष्ठले पार्टी सभापति लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्। प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त राखेका छन् ।
रास्वपाका महामन्त्री डा. मुकुल ढकालले अडियो आफूले पनि सुनेको र त्यसबारे सांसद श्रेष्ठलाई कारबाही प्रक्रिया थालिएको बताएका छन् । यो विषयमा पार्टीको अनुशासन समितिले छानबिन प्रतिवेदन तयार गर्ने उनले बताए । उनका अनुसार सासद श्रेष्ठलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरिएको छ ।




















प्रतिक्रिया