काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचन आउन अब दुई हप्ता पनि बाँकी छैन । गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनपछि विभिन्न कारणले रिक्त भएका तीन क्षेत्रमध्येको एक तनहुँ १ हो । तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै उपनिर्वाचन हुन लागेको हो ।
तनहुँ १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन्– गोविन्द भट्टराई । तनहुँमै जन्मिएका उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । भट्टराईमाथि अहिले यसअघि पौडेलले पाएका मत जोगाउँदै थप मत बटुल्नुपर्ने चुनौती छ ।
गत ४ मंसिरमा भएको चुनावपछि ८ मंसिरमा आएको नतिजाअनुसार तनहुँ १ बाट पौडेलले २५ हजार ३१८ मत ल्याएर जित हात परेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९ सय ४३ मत ल्याएका थिए । यसैगरी पार्टीसँग असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ तथा राप्रपाका उम्मेदवार विनोद घर्तीले २ हजार चार सय ८३ मत ल्याएका थिए ।
आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा एमाले, रास्वपा र राप्रपाले आफ्नै उम्मेदवार उठाएका छन् भने यसअघि स्वतन्त्र उम्मेदवारी दिएका जोशी उठेका छैनन् । यसर्थ यसपटक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता भट्टराईलाई यसअघि पौडेलले पाएका मत जोगाउँदै गोविन्दराज जोशीले पाएका केही मत पनि तान्न सकेमात्र जित सहज हुने देखिन्छ । जोशीले पाएका सबै मत एमालेलाई गएमा भट्टराईलाई कठिन पर्न सक्ने देखिन्छ । यद्यपि जोशीले पाएका मत बाँडिन पनि सक्छ । उक्त मत बाँडिएको खण्डमा यसअघि पौडेलले पाएका मत मात्र जोगाउन सकेपनि भट्टराईले बाजी मार्ने छन् ।
त्यसो त स्वयं उम्मेदवार भट्टराईले पनि तनहुँ १ मा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । उनले यसपटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम गरेको र थालेको पनि बताएका छन् । ‘तनहुँ १ मा नेपाली कांग्रेसकै जित सुनिश्चित छ । यसै पनि त्यो क्षेत्र नेपाली कांग्रेसले नै जितको क्षेत्र हो । विगतमा प्राप्त मतभन्दा बढी मतले जित्नेछौँ । जित्ने आधार धेरै छन् । अरू भाषणमात्रै गर्छन्, मैले काम नै पूरा गरेको छु । मैले गरेका कामहरूबाट नै मैले चुनाव जित्नेछु’, भट्टराईको भनाइ छ ।
भट्टराईले भनेजस्तै विगत दुई दशकदेखि उनी तनहुँवासीको सेवा समर्पित छन् । विशेषगरी विकट र डाँडाकाँडामा रहेका गाउँगाउँमा पानीको आपूर्ति, सडक संजाल तथा ग्रामीण विद्युतिकरणलगायतका क्षेत्रमा उनी सक्रिय छन् ।
भट्टराईको राजनीतिक यात्रा
नेपाली कांग्रेसभित्र त्यागी नेताका रुपमा परिचित भट्टराईले करिब ४५ वर्षको प्रतिक्षापछि संसद् प्रवेश गर्ने मौकास्वरुप प्रतिनिधिसभाको टिकट पाएका हुन् । वि.सं. २०३४ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भई विद्यार्थी राजनीति सुरु गरेका उनी अहिले कांग्रेस केन्द्रीय सदस्य छन् । उनी तीन–तीन पकट केन्द्रीय सदस्य भइसकेका व्यक्ति छन् ।
नेता भट्टराई २०३६ सालमा पञ्चायतविरुद्धको आन्दोलनमासमेत सहभागी भएका थिए । त्यसबेला उनकै नेतृत्वमा तनहुँको दमौलीमा पञ्चायतविरुद्ध विद्यार्थी आन्दोलन भएको थियो । २०४२ सालमा नतहुँ सत्याग्रहको नेतृत्व गरेका भट्टराईले २०४६ मा पुनः पञ्चायतविरुद्ध विद्यार्थीले गरेका आन्दोलनमा अग्रपंतिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
२०५३ मा नेविसंघको सर्वसम्मत सभापति चयन भई विद्यार्थीको हकहितमा काम गरेका उनी ०५८ मा नेपाल दरुण दलको महासचिव बने । भट्टराई अग्रपंतिमै रहेर २०६२/६३ को जनआन्दोलनमा पनि सामेल भएका थिए । उनले चन्द्रवाती मा.वि. भानु, तनहुँबाट २०३६ सालमा एसएलसी पास गरेका थिए । त्यसपछि प्लस टु, स्नातक हुँदै भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल उनी पिएचडी स्कलर हुन् ।




















प्रतिक्रिया