काठमाडौं । एसिसी प्रिमियर कपमा मलेसियाले साउदी अरेवियालाई हराउँदै पहिलो जित निकालेको छ । पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको मलेसियाले दोस्रो खेलमा आज (बिहीबार) साउदीलाई ८ विकेटले पराजित गर्दै अंक तालिकामा खाता खोलेको हो ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ओपनर विरनदीप सिंह र मोहम्मद आमिरको अर्धशतकमा मलेसियाले सहज जित निकालेको हो । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा विरनदीपले ५३ बलमा ८ चौकासहित ५१ रन र अर्का ओपनर मोहम्मद आमिरले ४४ बलमा १२ चौकासहित सर्वाधिक ५६ रनको योगदान दिए । साउदी अरेवियाका जैन उल अबिदीनले दुई विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदी अरेविया ४६.२ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । साउदीका विकेटकिपर हसिब गाफुरले ७८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाएका थिए ।
अतिफ उर रहमान ३१ बलमा ३ चौकासहित १८ रनमा अविजित रहेका थिए । अन्तिम विकेटका लागि रहमान र गाफुरले ४४ रनको साझेदारी गर्दै सम्मानजक योगफल तयार पारेका थिए । ओपनर अब्दुल वाहिदले ७२ बलमा २ चौकासहित ३६ रन बनाए । मोहम्मद हसन शेख २१, अब्दुल मनान अली ५ रनमा आउट भए । मलेसियाका खिजार हायतले ३ विकेट लिएका थिए । मोहम्मद वाफिक र रिजवान हैदर दुई दुई तथा विरानदीपले १ विकेट लिए ।
मलेसिया पहिलो खेलमा नेपालसँग ६ विकेटले पराजित भएको थियो । मलेसियाले आइतबार मुलपान मैदानमा ओमानसँग खेल्नेछ । साउदीले दोस्रो खेल शनिबार कतारसँग टियु मैदानमा खेल्नेछ ।




















प्रतिक्रिया