Logo

खेलकुद

एसीसी प्रिमियर कपमा बहराइनको सुखद सुरुवात



काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कपमा बहराइनले सुखद सुरुवात गरेको छ । टियु मैदानमा भएको खेलमा बहराइनले सिंगापुरलाई १३२ रनले पराजित गरेको हो ।

बहराइनले दिएको २८७ रनको लक्ष्य पछ्याएको सिंगापुरले ४३ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ५४ रन मात्र बनायो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले ६५ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । विनोथ वसकरनले ५२ बलमा २३ रन बनाए ।

थिलिपन ओमिदुरीले २६ बलमा २० रन बनाए । कप्तान आरित्र दत्त र रोहन रंगराजनले समान ११/११ रन बनाए । बहराइनका लागि इम्रान अनवर ४ तथा रिजन बटले ३ विकेट लिए । अब्दुल मजिदले २ तथा अलि दाउदले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनायो। बहराइनका लागि फैज अहमद र शाहबाज बदरले अर्धशतकीय ईनिङ खेले । फैज अहमदले ५९ बलमा ७९ रन बनाउँदा शाहबाज बदरले ९८ बलमा ७६ रन बनाए ।

साहिल अहमदले ४६ तथा कप्तान हैदर बटले २९ रन बनाए । सिंगापुरका लागि रमेश कालिमान्थु,थिलिपन ओमिदुरी र विनोथा बसकरनले समान २/२ विकेट लिए ।

जितसहित प्रतियोगिता सरुआत गरेको बहराइनले २ अंक जोडेको छ । दोस्रो खेलमा पनि अंकबिहिन रहेको सिंगापुर समूह बी को पुछारमा रहेको छ । सिंगापुर यसअघि आफ्नाे पहिलाे खेलमा हङकङसँग ८ विकेटले पराजित भएकाे थियाे ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १७:१४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।