काठमाडौं । एसीसी प्रिमियर कपमा सिंगापुरलाई ४ विकेटले पराजित गर्दै कुवेतले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । अब सेमिफाइनल प्रवेशका लागि कुवेतले बिहिबार हुने खेलमा हङकङलाई पराजित गर्नु पर्ने हुन्छ ।
टियु मैदान कीर्तिपुरमा सिंगापुरले दिएको १ सय १४ लक्ष्य कुवेतले २६ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । कुवेतका लागि अदनान इद्रीशले २८ बलमा ३८ रन बनाउँदा मित भावसारले ५० बलमा अविजित २७ रन बनाए । यासिन पटेलले २५ बलमा अविजित २१ रन बनाए । शीराज खानले २० बलमा १० रन बनाए ।
सिंगापुरमा अक्षय पुरी र विनोद बसकरनले समान २/२ तथा आदित्य भारगभ र थिलिपानी उमदुराईले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३१ दशमलब ४ ओभरमा अलआउट हुदै १ सय १३ रन बनाएको हो । सिंगापुरका लागि ओपनर अर्मत्य कौलले ६० बलमा ४५ रन बनाए । मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए ।
थिलिपन उमरदुराईले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतका लागि कप्तान मोहम्मद अस्लामले ८ ओभर ४ बलमा २० रन खर्चदै ५ विकेट लिए । शिराज खानले ३ विकेट लिए ।
तीन खेलबाट चार अंक जोडेको कुवेतले सेमिफाइनल प्रवेशको सम्भावना मजबुत बनाएको छ । बिहिबार हुने समूह चरणको खेलमा हङकङलाई पराजित गरे कुवेत फाइनलमा स्थान बनाउने छ । प्रतियोगिताबाट बाहिरिसकेको सिंगापुर ले अंकविहीन हुँदै प्रतियोगिता सकाएको छ ।




















प्रतिक्रिया