Logo

खेलकुद

साउदीलाई हराउँदै ओमान एसीसी प्रिमियर कपको सेमिफाइनलमा



काठमाडौं । ओमन काठमाडौंमा जारी उसीसी प्रिमियर कपमा साउदी अरेबियालाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ए’ मा रहेको ओमानले साउदी अरेबियालाई ७२ रनले हराएको हो ।

टियु मैदान कीर्तिपुरमा ओमानले दिएको ३ सय ६७ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले ४६ दशमलब ५ ओभरमा अलआउट हुँदै २ सय ९४ रन मात्र बनायो । साउदीका लागि ओपनर अब्दुल वाहिद र साद खानले अर्धशतकीय ईनिङ खेले । वाहिदले ८६ बलमा १४ चौका र १ छक्काको सहयोगमा ९५ रन बनाए ।

खानले ८० बलमा १० चौका र १ छक्काको सहयोगमा ७८ रन बनाए । पहिलो विकेट सात रन बनाउँदा गुमाएको साउदीका लागि वाहिद र खानले १ सय ७७ रनको साझेदारी गरेका थिए । तल्ला क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा साउदीले हार व्यहोरेको थियो । कप्तान हिशाम शेखले ३२ बलमा ४ चौकाको सहयोगमा ३४ रन बनाए । अब्दुल वाहिदले १५ बलमा २५ रन बनाए । आतिफ उर रहेमानले अविजित १६ रन बनाए ।

ओमानका लागि बिलाल खानले ४ तथा जय ओडिराले ३ विकेट लिए । जिशान मक्शुदले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो । ओमानका लागि शिर्ष पाँचका ब्याटरले अर्धशतक बनाएका थिए । मोहम्मद नदिम,जिशान मक्शुद,कश्यप प्रजापती,सोयब खान र जतिन्दर सिंहले अर्धशतकीय ईनिङ खेले ।

सिंहले ७९ बलमा ११ चौका र २ छक्काको सहयोगमा ८८ रन बनाए । खानले ७० बलमा ८ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । प्रजापतीले ५३ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । मक्शुदले ४९ बलमा ५४ रन बनाए । पहिलो विकेटका लागि सिंह र प्रजापतीले १ सय २५ रनको साझेदारी गरेका थिए । नदिमले ३८ बलमा ६ चौका र ४ छक्काको साथमा अविजित ७१ रन बनाए । आयान खान १२ रनमा अविजित रहे ।

साउदी अरेबियाका लागि अतिफ उर रेहमानले ३ तथा अब्दुल वाहिदले २ विकेट लिए । अब्दुल वाइद १ विकेट लिए ।

यस समूहबाट नेपालले यस अघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । बिहिबार नेपाल र कतारबीचको खेल पश्चात यस समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । अर्को समूहबाट युएईले सेमिफाइनलमा स्थान पक्का गरिसक्दा हङकङ र कुवेतबीच बिहिबार हुने खेलबाट अर्को टोलीको टुंगो लाग्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १९:१२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।