Logo

खेलकुद

एसीसी प्रिमियर कप : फाइनल पुग्न नेपालले कुवेतलाई २८२ रनको लक्ष्य



काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपालले कुवेतलाई २ सय ८२ रनको लक्ष्य दिएको छ । टियु मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २ सय ८१ रन बनाएको हो । बर्षाका कारण ४२ ओभरमा छोट्याइएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ९४ रनको अर्धशतकीय ईनिङ खेले । कुशल मल्लले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६५ बलमा ७७ रनको साझेदारी गरेका थिए । १० दशमलब ५ ओभरमा ७७ रन बनाएको अवस्थामा विकेट गुमाएको थिएन ।

लगत्तै तीन विकेट गुमाएको नेपालका लागि चौथो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले १ सय ९ रनको सानदार साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलमा पुगेको हो । मल्ल सयद मोईबको बलमा ५७ रन बनाउँदै आउट भएपछि साझेदारी तोडिएको थियो ।

आरिफ शेखले १९ बलमा २ चौका तथा १ छक्काको सहयोगमा १९ रन बनाए । सोमपाल कामीले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १३ रन बनाए । कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३/३ तथा सयद मोनिव र यासिन पटेलले समान १/१ विकेट लिए ।

कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा कुवेतले मुलपानी मैदानमा २ सय ७२ रन बनाएको थियो । नेपाल अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

यस खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेता टोलीसँग फाइनलमा भिड्ने छ । च्याम्पियन टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा सहभागीता जनाउने छन् । शीर्ष तीनमा रहने देशले एसीसी ईमर्जिङ कप खेल्नेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार १४:४३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।