Logo

राजनीति

कांग्रेस र ट्रेड युनियन कांग्रेसबीच भएका सम्झौता कार्यान्वयन गर्ने महामन्त्री थापाको प्रतिबद्धता



काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी र ट्रेड युनियन कांग्रेसबीच भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले पार्टी र ट्रेड युनियनबीच विगतमा भएको सम्झौता कार्यान्वयन गर्न पार्टी नेतृत्व तयार रहेको बताए ।

“पार्टीको विधानमा मजदुरसम्बन्धी गरिएको व्यवस्थालाई कार्यान्वयन गर्दै पार्टीमा मजदुरलाई प्रतिनिधित्व गर्न कांग्रेस लाग्छ”, उनले भने । महामन्त्री थापाले कांग्रेस मजदुरलाई सँगसँगै लिएर अगाडि बढ्न चाएको बताए । “मजदुरको तागतले कांग्रेस बलियो बन्छ, कांग्रेस बदलिए देश बदलिन्छ”, महामन्त्री थापाले भने । श्रमिक अस्पताल निर्माणका लागि नेपाल ट्रेड युनियन कांग्रेस सङ्घर्ष गर्न पछि हट्न नहुने उनको भनाइ छ ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले लिएको सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाका कारण नेपाली श्रम बजार बढेको बताए । उनले कांग्रेसले लिएको नीतिका कारण नै नेपालको श्रम क्षेत्र अहिलेको अवस्थामा पुगेको स्पष्ट पारे ।

ट्रेड युनियन ऐन, मौजुदा श्रम ऐन, सामाजिक सुरक्षा कोष लगायतलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । उहाँले  श्रमिकको मुद्दा आगामी नीति अधिवेशनमा उठाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “यो देश बन्छ, बनाउन सकिन्छ भन्ने मनोविज्ञानका साथ अगाडि बढ्नुपर्छ”, उनले भने ।

महामन्त्री शर्माले श्रमिकको मुद्दा समाधान गर्न कांग्रेस  नेतृत्व सधैँ तयार रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार २१:४६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।