Logo

राजनीति

प्रहरी सेवालाई थप चुस्त र दुरुस्त बनाउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल प्रहरीलाई सुविधासम्पन्न एवं प्रविधियुक्त बनाई प्रहरी सेवालाई थप चुस्त एवं दुरुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको परिसरमा नवनिर्मित प्रदेश प्रहरी कार्यालयको मुख्य भवनसहितका संरचनाको आज उद्घाटन गर्दै उनले प्रहरीको क्षमता विकास गर्ने लगायतका काममा सरकार तत्पर रहेको बताए ।

प्रदेश प्रहरी कार्यालय धनगढीको परिसरमा प्रदेश सरकारको रु २३ करोड ८६ लाख ९४ हजार चारसय २१ को लागतमा मुख्य कार्यालयसहितका आठ वटा भवन संरचनाको निर्माण पूरा भएको छ । भूकम्प प्रतिरोधी यी संरचनाको कुमार रोयल जेभी निर्माण कम्पनीले तोकिएको समयभन्दा पाँच महिनाअघि नै निर्माण पूरा गरेको हो ।

मुख्य कार्यालय, आवास र मेस (भान्साघर) सहितका प्रदेश प्रहरी कार्यालयका यी संरचना देशमै पहिलो नमूनाको संरचना भएको बताइएको छ । प्रदेशको राजधानी धनगढी तोकिएपछि साविकमा दीपायलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई पनि झण्डै तीन वर्षअघि धनगढी सारिएको थियो ।

साविकमा धनगढीमा रहेको सेती अञ्चल प्रहरी कार्यालयका भवनलाई प्रदेश प्रहरी कार्यालयको टुर मुकामका रूपमा प्रयोग गरिँदै आएकोमा अब सोही परिसरमा नयाँ भवन संरचना निर्माण गरिएको हो ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार २०:१०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।