काठमाडाैं । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा ५० प्रतिशत महिलाको सहभागिता गराउन निर्वाचनमा हुने विकृति रोक्नुपर्नेमा जोड दिइएको छ । आज बसेको समितिको बैठकमा आमन्त्रित संविधानसभा सदस्य विन्दा पाण्डेसहित समितिका सदस्यले सो विषयमा साझा मत राखेकी हुन् ।
‘प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयक’ माथिको छलफलमा उनले निर्वाचनमा महिलाले अनावश्यक खर्च कम गर्न खोज्ने तर पैसाको बलमा चुनाव चलाउने विकृतिले महिलाको सहभागितालाई कमजोर बनाएको बताइन् । बैठकमा संविधानसभा सदस्य पाण्डेले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा थप गरिएका र स्पष्ट पारिएका प्रावधानमा लैङ्गिक दृष्टिकोणबाट एक कार्यपत्र प्रस्तुत गर्दै ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चितका लागि बहस गर्न जरुरी रहेको बताइन् ।
मस्यौदामा भएका सकारात्मक प्रावधान, संविधानको दृष्टिकोणबाट सुधार गर्नुपर्ने पक्ष, लैङ्गिक सहभागिता र मौलिक हक, मौलिक हक कार्यान्वयन र संवैधानिक व्यवस्था, मौलिक हकसम्मत बनाउनुपर्ने प्रावधान, संविधानसम्मत बनाउनुपर्ने प्रावधान, तिनै तहको भूमिका र सम्बन्धित निकायको भूमिका विषय कार्यपत्रमा प्रस्तुत गरेकी थिइन् ।
समितिका ज्येष्ठ सदस्य सभापति रोशन कार्कीले बन्दै गरेको निर्वाचन विधेयकमा महिला र पुरुषको अवस्थाबारे जानकारी लिनु बैठकको ध्येय रहेकाले विधेयक आउनुपूर्व समितिको सुझाव संसद्मा दिन सान्दर्भिक रहने बताए ।
समिति सदस्य तथा सांसद शोभा ज्ञवालीले चुनावमा जनसङ्ख्याको आधारमा ५० प्रतिशत टिकट महिलालाई प्रदान गरी महिलाबीच प्रतिस्पर्धा गराएमा सहभागिता अभिवृद्धि गर्न सकिने बताइन् । “चुनवमा एउटा दलबाट महिला सदस्य उठाएमा अर्को दलले पनि महिला नै उठाई उनीहरूबीच प्रतिस्पर्धा गराएमा महिलाको सहभागिता वृद्धि गर्न सकिन्छ”, उनले भनिन् ।




















प्रतिक्रिया