दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ११ बर्षीय बालकको मृत्यु भएको बिषयमा मृतकका परिवार र अस्पताल प्रशासनबीच सहमति भएकाे छ । उक्त सहमित पछि अस्पतालकाे नियमित सेवा सुचारु भएको छ । शुक्रबार राति अस्पताल प्रशासनसँगको वार्तामा सहमति जुटेपछि मृतक बालकको परिवारले आन्दोलन फिर्ता लिए ।
शनिबारदेखि अस्पतालको आकस्मिकसहित सेवा सञ्चालन भएको छ । बिहीबार उपचारका क्रममा घोराही उपमहानगरपालिका– ३ का ११ बर्षीय बालक आक्रोश नेपालीको मृत्यु भएपछि परिवारका सदस्य र आफन्तले आन्दोलन गर्दै प्रतिष्ठानको सेवा बन्द गराएका थिए ।
मृतक परिवार र अस्पताल पक्षबीच बालकको मृत्यु भएको घटनाको छानबिन गर्न घोराही– ३ का वडा अध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । यस्तै मृतकको परिवारका सदस्यलाई रोजगारी दिने, परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाई सहयोग संकलन गर्ने सहमति पनि भएको छ ।
मृतकको परिवारलाई राहत दिन स्थानीय सरकार, प्रदेश र संघ सरकारसँग अनुरोध गर्ने र बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्न पनि सहमति भएको छ ।




















प्रतिक्रिया