काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनमा बेथिती र नितीगत भ्रष्टाचारमा सीइओ उर्मिला श्रेष्ठ जसरी सक्रिय छिन् । त्यसलाई मलजल गर्ने काममा सक्रिय छन् साल्ट ट्रेडिङकै विभागीय प्रवन्धक ब्रजेशकुमार झा । अनधिकृत कर्मचारी करारमा भर्नादेखि आन्तरिक शिर्षक खडा गरेर भत्ता वितरण गर्ने जस्ता नियमविपरित हुने काममा यीनै झाले श्रेष्ठलाई सघाउँदै आएका छन् ।
सीइओ र ब्रजेश झाको कनेक्शन
साल्ट ट्रेडिङको विभागीय प्रवन्धक ब्रजेशकुमार झा सीइओ उर्मिला श्रेष्ठकै विश्वासिला पात्र हुन् । उनी साल्ट ट्रेडिङको बजार व्यवस्थापकको भूमिकामा पनि छन् । उनीसँग कम्पनीमा भैरहेको अनियमितताका सम्वन्धमा केही बुझ्न खोजे झर्कीफर्की गर्छन् । यस अघि हामीले साल्ट ट्रेडिङभित्रका चरम बेथिती नीतिगत भ्रष्टाचारका विषयमा समाचार सम्प्रेषण गरेका थियौँ । त्यस लगत्तै उनै झाले अनलाइनपानाका प्रधानसम्पादकलाई केही कुरा गर्नुछ भन्दै टेलिफोन सम्पर्क गरे । उनले भने–‘सीइओ म्यामले डील गर्नुस् भनेर भन्नुभएको छ,कुरा गरौँ ।’ हामीले जवाफमा भन्यौँ- ‘समाचारका सम्वन्धमा सूचना अधिकारी या सम्वन्धित व्यक्ति अर्थात सीइओ उर्मिला श्रेष्ठसँग कुरा गर्न चाहेका हौँ । तपाइँसँग होइन ।’
साल्ट ट्रेडिङभित्रको अनियमितता
कुनै समय साल्ट ट्रेडिङ अन्तर्गत गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना ,मैदा मिल लगायत जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने उद्योगहरु सञ्चालित थिए । तर अहिले ति उद्योेगहरु बन्द छन् । साल्ट ट्रेडिङका संस्थापक ईश्वरीलाल श्रेष्ठले २५ वर्षसम्म सञ्चालक रहेर साल्ट ट्रेडिङ चलाए । उनको पालासम्म ठिकठिकै चलिरहेको थिए यी उद्योगहरु तर जव साल्ट ट्रेडिङमा सीइओमा उनकी छोरी उर्मिला श्रेष्ठ भित्रिन्छिन् । उनी आफू जसरी पनि कमाउधन्दामा लाग्ने तिर चासो दिँदा बिस्तारै ती उद्योगहरु पूर्णरुपमा बन्द भए ।
सीइओ श्रेष्ठले साल्ट ट्रेडिङको नाममा रहेको करोडौँको सम्पत्ति हत्याएर सरकारी सम्पत्तिको मालिक बनेकी छिन् ।
साल्ट ट्रेडिङको शेयर कुनै समय १ सयबाट बढेर १४हजारसम्म पुग्यो ।साल्ट ट्रेडिङ र लक्ष्मी गु्रपको मिलेमतोमा इन्साइडर ट्रेडिङ गरेर १ सयको शेयरलाई हजारौं बराबरको बनाइयो । यसले शेयर खरिद बिक्रीमा सर्वसाधारणको पहुँच नपुगोस् भन्ने नियत राखिएको प्रष्ट हुन्छ । साल्ट ट्रेडिङले २०३५साल देखि २०३८सालसम्म नून विशेष कोष वापत ४ करोड ४ लाख उठाएको थियो । नून विशेष कोषबाट उठाएको रकमले साल्ट ट्रेडिङले जग्गा किन्यो । अहिले नून विशेष कोषको रकमबाट किनेको जग्गाको मूल्य २ अर्वभन्दा माथिको छ । अहिले साल्ट ट्रेडिङले सरकारलाई जग्गाको सट्टा सो समयकोे पैसा मात्र दिने शर्त राख्दै आएको छ । यसका सबै फाइल र प्रमाण आपूर्ति मन्त्रालयमा छ तर खोजबिन भएको छैन । सरकारी अनुदानबाट किनिएको जग्गा सरकारी नाममा हुनपर्ने हो तर साल्ट ट्रेडिङको नाममा रहेको छ । उक्त जग्गा कति बेला व्यापारीहरुले आफ्नो बनाउने हुन् सरकार बेखवर छ ।
नेपाल सरकारको भूमिकामाथि प्रश्न
अत्यावश्यक सामग्री नून, चिनी, तेल, लगायतका खाद्यान्न आयात गर्ने र बिक्रीको एकाधिकार पाएको साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारको स्वामित्व २२ प्रतिशतको हाराहारीमात्रै छ । साल्ट ट्रेडिङलाई हेर्ने र नियमन गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने साल्ट ट्रेडिङले गरेको काम कारबाहीमा न त चासो राख्छ न त कारबाही गर्ने हैसियत राख्छ । सरकारले सर्वसाधारणको उपभोग्य सामग्रीको कारोवार गर्ने साल्टलाई गतिलो ढंगले नियमन गर्न नसक्दा जती सवल हुनपर्ने हो त्यति बन्न सकेको छैन । त्यस्तै साल्ट ट्रेडिङ सञ्चालन खर्चको नामबाट प्रत्येक वर्ष आपूर्ति मन्त्रालयबाट आएको २ करोडको हिसाव बुझाइँदैन । नत महालेखामा अडिटनै गराइन्छ ।
उर्मिला श्रेष्ठको आडमा कर्मचारीहरुको मनपरी
साल्ट ट्रेडिङमा इन्द्रमान श्रेष्ठको पनि त्यस्तै हालिमुहाली छ । उनका भाई, बुहारी,भान्जी लगायत एकाघरका सबै नातेदारले साल्ट ट्रेडिङमा जागिर पाएका छन् । त्यस्तै अर्का कर्मचारी रामचन्द्र महतोको पनि साल्ट ट्रेडिङमा हालिमुहाली छ । उनले अहिले दुर्गमको नून ढुवानीको जिम्मेवारी सम्हालिरहेका छन् । उनी सीइओ श्रेष्ठका विश्वास पात्र भएकाले उनले सो क्षेत्रमा रहेर काम गर्ने जिम्मेवारी पाएको विश्वस्त स्रोत बताउँछ । उनीमाथि पनि भ्रष्टाचार गरेको आरोप छ ।
त्यस्तै साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारी साल्ट ट्रेडिङकी सीइओ श्रेष्ठका दाहिने हात हुन् । राजभण्डारीे अहिले इलामस्थित चिया बगानका मालिक हुन् ।उनको इलाममै तारे होटल छ । उनीमाथि पनि साल्ट ट्रेडिङमा रहेर अकुत सम्पत्ति आर्जन गरेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् । उनीमाथि त झन् भारतमै नूनको कमिशन खाने गरेको गम्भीर आरोप लागेको छ । साल्ट ट्रेडिङमै कार्यरत एक कर्मचारी भन्छन्–‘सीइओसँग मिलेर भारतबाट नेपाल भित्रिने नूनमा भारतमै कमिशन खाएर कालो नूनलाई खाने नून बनाउने काममा राजभण्डारी संलग्न छन् । उनीहरु साल्ट ट्रेडिङको दिल्ली गेष्ट हाउसमा बसी कारोवारको डील गर्ने गरेको ती कर्मचारी बताउँछन् ।
सीइओ उर्मिला श्रेष्ठको राणा शासन
उर्मिला श्रेष्ठको रवाफ र तानाशाहीको अगाडि कोही कर्मचारी बोल्ने आँट गर्दैनन् । साल्ट ट्रेडिङमै कार्यरत डिजिएम मनोज आचार्यले साल्ट ट्रेडिङभित्र भैरहेको भ्रष्टाचारको विषयमा आवाज उठाउँदा उनिविरुद्ध सीइओ लगायत व्यवस्थापन खनिएका थिए । केही समयपछि उनको बाँसवारीस्थित न्यूरो अस्पतालमा निधन भयो । जसलाई रहस्यमय मानिएको थियो ।
- याे पनि…
साल्ट ट्रेडिङमा रोकिएन अनियमितताको श्रृङ्खला, सेवा सुधारमा भन्दा चलखेलमा बढी ध्यान
साल्ट ट्रेडिङ काभ्रेले वितरण गरेकाे रासायनिक मलमा चरम दुरुपयोग
साल्ट ट्रेडिङमा करारमा कर्मचारी नियुक्ति र मलमा मनलाग्दी, सीइओ श्रेष्ठलाई कसले लगाउने लगाम ?




















प्रतिक्रिया