Logo

प्रमुख समाचार

कर्मचारीलाई गृहमन्त्री गुरुङको चेतावनी : नेताको चाकडी होइन, जनताको सेवा गर्नुस्



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने प्रवृत्ति त्याग्न चेतावनी दिएका छन्। उनले कर्मचारीको प्रमुख जिम्मेवारी देश र जनताको सेवा गर्नु भएको भन्दै पदीय मर्यादाविपरीत राजनीतिक गतिविधिमा संलग्न हुनेमाथि कडा कारबाही गर्ने बताएका छन्।

गृहमन्त्री गुरुङले सरकारमा आएदेखि नै कर्मचारीको भूमिका र जिम्मेवारीबारे स्पष्ट पार्दै आएको उल्लेख गर्दै राष्ट्रसेवक कर्मचारी कुनै राजनीतिक दल वा नेताप्रति नभई देश र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन्।

‘राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन, देश र जनताको सेवा गर्ने हो,’ उनले भनेका छन्।

नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने उनको भनाइ छ।

पटकपटक सचेत गराउँदा पनि दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम कसैले पालेको भए त्याग्न उनले चेतावनी दिएका छन्। पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुने उनको भनाइ छ।

‘हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो,’ गृहमन्त्री गुरुङले भनेका छन्।

उनको अभिव्यक्तिले निजामती प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने र कर्मचारीलाई सेवामुखी बनाउने सरकारको अपेक्षालाई पुनः चर्चामा ल्याएको छ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार १०:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।