काठमाडौं । पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइतबार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
आइतबार नै मन्त्रालयले समस्याग्रस्त घोषणाको जानकारी गराउँदै सहकारीको व्यवस्थापन समितिलाई पत्राचार गरिसकेको छ । संघ सरकारको सहकारी विभागको नियमन क्षेत्रभित्र रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा उक्त सहकारी संस्थामा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।
सेयर सदस्य बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि गत फागुन २९ गते नै सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो ।
पटक पटकको निर्देशनपछि पनि संस्थाले बचतकर्ताको बचत रकम फिर्ता नगरेपछि विभागले अध्यक्ष सीबी लामासहित संस्थाका सञ्चालकहरुलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई समेत जेठ १९ गते पत्राचार गरेको छ ।
तर, लामो समयको प्रयासपछि पनि संस्थाले बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि संस्थाको विरुद्धको उजुरीको चाङ लागेपछि मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
सहकारी विरुद्ध ५३ करोड रुपैयाँभन्दा बढी ठगीको आरोपसहित माग दाबी विभागमा परेको छ । तथापि, सबैगरी संस्थाले करिब १ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी देखिएको विभागले जनाएको छ ।
लामाले काभ्रे चितवनलगायतका ठाउँमा ठूलो परिमाण्मा जग्गा किनेका छन् । उनले सहकारीको स्रोत दुरुपयोग गरेर किनेको जग्गा पुनः निक्षेपकर्तालाई भिडाएर ९ अर्ब रुपैयाँ अशुल गर्ने खेलमा लागेका छन् । उनले सहकारीको भनेको जग्गा लामालगायत विभिन्न व्यक्ति तथा कम्पनीको नाममा भएको देखिएको छ ।




















प्रतिक्रिया