Logo

कोशी प्रदेश

कोशी सरकार विरुद्धको मुद्दा : रिटको पक्षमा फैसला आए हिक्मत कार्की बन्न सक्छन् फेरि मुख्यमन्त्री



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (बिहीबार) फैसला हुँदैछ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो।

इजलासले बुधबार सुनुवाइ सकेकोले बिहीबार फैसला सुनाउने भएको हो। बुधबार अपरान्ह ४ बजेसम्म बहस भएपछि मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

कोशीमा नेपाली कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने क्रममा सभामुख बाबुराम गौतम असंवैधानिक रुपमा प्रयोग भएको एमालेको आरोप छ । सरकार बन्न कम्तिमा ४७ सांसदको समर्थन आवश्यक पर्नेमा सभामुखबाहेक ४६ सांसद मात्र कांग्रेस–माओवादी गठबन्धनसँग हुने भएपछि सभामुख गौतमसमेतको हस्ताक्षरबाट ४७ पु¥याइएको थियो ।

यसरी सरकार गठनमा सभामुखको प्रयोग हुन नहुने भन्दै एमाले कोशीका संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटमा जटिल कानुनी प्रश्न समावेश भएको ठहर गर्दै पूर्ण इजलासबाटै सुनुवाइ हुन उपयुक्त हुने आदेश न्यायाधीश सुष्मलता माथेको इजलासले आदेश दिएको थियो।

अब सर्वोच्चले सरकार गठनमा सभामुखको संलग्नता असंवैधानिक ठहर गर्दै रिटको पक्षमा फैसला सुनाए कांग्रेसका थापा नेतृत्वको सरकार ढल्ने छ । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका कार्की पुनः मुख्यमन्त्री नियुक्त हुने छन् । उनले उपधारा ४ बमोजिम तीस दिनभित्रमा पुनः विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार १२:०१   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।