काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय अदालतले परीक्षण गर्न सक्ने भएको छ।
सर्वोच्च अदालतको न्यायाधिश हरिप्रसाद फुयालको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको रिट निवेदन दरपिठ गर्ने सर्बोच्च अदालतकी रजिष्ट्रार निर्मला पौडेलको आदेश बदर गर्दै भनेको छ, ‘राष्ट्रपति वा अन्य उच्च पदस्थ ब्यक्तिहरुको विदेशमा उपचार गर्दा लाग्ने खर्च वा अन्य सुविधा बापतको रकम के कसरी कुन मापदण्डका आधारमा उपलब्ध गराउने भन्ने विषयमा प्रस्तुत निवेदन अन्तरनिहित रहेको देखिँदा नेपाल सरकार मन्त्री परिषदको मिति २०८०।०३।१२ को निर्णयको अदालतले परीक्षण गर्न सक्ने नै देखिँदा यस अदालतका रजिष्ट्रारबाट मिति २०८०।०४।०५मा भएको दरपिठ आदेश बदर गरिदिएको छ ।’ सर्बोच्च अदालतको आदेश आएसँग अधिवक्ता गिरीले शुक्रबार रिट दर्ता गरेको छन् । उक्त रिट निवेदनको पेशी आइतबारलाई तोकिएको छ ।

सर्बोच्च अदालतलको आदेशपछि अधिवक्ता गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च ब्यहोर्ने भनी गरेको निर्णय उत्प्रेणको आदेशले बदर गर्न माग गर्दै पेश गरेको रिट निवेदन शुक्रबार दर्ता भएको हो । अधिवक्ता गिरीले गत असार २४ गते सर्बोच्च अदालतमा पेश गरेको रिट निवेदन सर्बोच्च प्रशासनले १३ दिनसम्म दर्ता गर्न आनाकानी गरेको थियो । अन्ततः सवोच्च अदालतकी रजिष्ट्रार निर्मला पौडेलले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने निर्णय सरकारको नितान्त नीतिगत विषय र कार्यपालिकाको क्षेत्राधिकारको विषय भएकाले कसलाई उपचार खर्च दिने नदिने भनी न्यायालयबाट निक्र्यौल हुने बिषय नभएको दावी गर्दै निवेदन दरपिठ गरेकी थिइन् । रजिष्ट्रार पौडेलको आदेश खारेजीको माग गर्दै अधिवक्ता गिरीले इजलास समक्ष निवेदन दिएका थिए । अधिवत्ता लिलानाथ घिमिरे र रिट निबेदक अधिवक्ता बिष्णु गिरीले बहस गरेका थिए ।

राष्ट्रपति पौडेल छातीको समस्याको उपचारका लागि गत बैशाख ६ गते उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्लीस्थित अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गराउन गएका थिए । उनी बैशाख १७ गते उपचार गराएर फर्केका थिए । सामान्य छाति दुखेको निहुम्मा लाखौं खर्च गरेर विदेशमा उपचार गर्न गएपछि त्यसको चर्को विरोध भएको थियो । विरोध मत्थर पार्न त्यती बेला राष्ट्रपति कार्यालयको सचिवालयले वैश्खा १७ गते वक्तव्य जारी गर्दै उपचारका क्रममा भएको खर्च राष्ट्रपति स्वयंले बेहोर्न चाहेको थियो । अहिले मन्त्रीपरिषदको बैठकले राष्ट्रपति पौडेलको उपचारमा लागेको ५५ लाखभन्दा बढी।रकम सरकारले व्यहोर्ने निर्णय गरेको भन्दै परराष्ट्र मन्त्रालयले असार १५ गते अर्थ मन्त्रालयसँग उपचार खर्च निकासा मागेको थियो ।
कानुन अनुसार नेपाल सरकारले विशिष्टहरुको उपचार खर्च व्यहोर्न नेपालमा उपचार सम्भव नहुने भन्ने मेडिकल बोर्डबाट सिफारिस लिनुपर्ने हुन्छ । त्यसैको आधारमा सरकारले तिनको स्वास्थ्य उपचार बापतको खर्च व्यहोर्ने गर्छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपचारका लागि दिल्ली जानुअघि मेडिकल बोर्डबाट सिफारिस लिएका थिएनन् । मन्त्रिपरिषदको निर्णयका आधारमा राजनीतिक व्यक्तिले मनलाग्दी उपचार खर्च लिने प्रचलन बढेपछि जनस्वास्थ्य सेवा ऐन, २०७५ ल्याइएको थियो । यस ऐनमा नेपालमा सम्भव भएका उपचारका लागि विदेश जाँदा उपचार खर्च नव्यहोर्ने व्यवस्था गरिएको छ । ऐनको दफा ३० मा कुनै पनि व्यक्तिले विदेशमा उपचार गरेमा सरकारले खर्च उपलब्ध नगराउने भनिएको छ ।
‘कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा उपचारका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’, ऐनको दफा ३० मा भनिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ मा पनि नेपालमा उपचार हुन नसकेमा मेडिकल बोर्डको सिफारिसमा विदेशमा उपचार गराउँदा लागेको उपचार खर्च सरकारले व्यहोर्ने उल्लेख छ ।




















प्रतिक्रिया