Logo

खेलकुद

इंग्ल्यान्डकाे लगातार दोस्रो जित: डेनमार्क १-० ले पराजित



एजेन्सी । एजेन्सी – इंग्ल्यान्डले फिफा महिला विश्वकप फुटबलमा लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

लउरेन्स जेम्सको निर्णायक गोलको मद्दतले इंग्ल्यान्डले डेनमार्कलाई १–० ले हराउँदै वुमेन्स वर्ल्डकप २०२३ को नकआउट चरणको नजिक पुगेको हाे । समूह ‘डी’मा इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो ।

इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा हाइटीलाई हराएको थियो । जेम्सले छैटौं मिनेटमा पोस्टको नजिकबाट प्रहार गर्दै उत्कृष्ट गोल गरिन् र यो नै अन्ततः खेलको एकमात्र गोल सावित भयो ।

सिड्डी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा शुक्रबार भएको खेलमा लौरेनले खेलको छैटौं मिनेटमा रचेल डालीको पासमा गोल गर्न सफल भएकी थिइन् । पहिलोपल्ट विश्वकप खेलिरहेकी उनले दर्शनीय गोल गर्न सफल भएकी हुन् ।

एक गोलको अग्रता लिएको इंग्ल्यान्डले त्यसपछि पनि बल पोसेसन राख्दै दवाव बढाएपनि डेनमार्कको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा पहिलो हाफको गोल नै ३ अंक जोड्नलाई पर्याप्त बन्यो ।

यस जितसँगै समूह ‘डी’ मा इंग्ल्यान्डको २ खेलबाट ६ अंक पुगेको छ । पराजित डेनमार्क २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा छ । इंग्ल्यान्डलाई अब नकआउट चरणमा पुग्न हाइटी र चीनले बराबरी खेले पर्याप्त हुनेछ ।

चोटका कारण केरा वाल्स भने खेलको मध्यभागमा मैदान छाड्न बाध्य रहिन् र यो इंग्ल्यान्डको लागि चिन्ताको विषय हुनेछ । डेनमार्कको भने यो पहिलो हार हो र उसको अर्को चरण प्रवेशको सम्भावना कायम छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १७:०५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।