Logo

प्रमुख समाचार

प्लाष्टिक निषेध अभियानलाई कडाइ गर्दै काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिक निषेध अभियानलाई कडाइ गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, प्लास्टिकका फूल तथा सजावटका सामग्री प्रयोग गर्न नपाइने घोषणा गरेको महानगरले प्रयाेग गरे कारबाही गर्ने बताएकाे छ । त्यसै अनुसार महानगरले प्लाष्टिककाे जाँच सुरु गरेकाे जनाएकाे छ ।

बजेटमा महानगरपालिकाले ‘४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध’ गर्ने उल्लेख गरेको छ ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले प्लास्टिकको अनुगमन गर्न टोली परिचालन गर्ने बताएका छन् । ‘हामीले वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौं,’ मेयर शाहले भनेका छन्, ‘प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइनेछ ।’

महानगरका अनुसार अनुगमन टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्नेछ । ‘पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्ने छ भने प्लास्टिकका फूल, प्लास्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन,’ अनुमगन टोलीलाई दिएको निर्देशनमा भनिएको छ ।

महानगरपालिकाका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ५० लाख थान प्लास्टिक झोलाको प्रयोग हुने अनुमान छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १८:१२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।