काठमाडौं । सुन तस्करी प्रकरणमा पार्टीका एकपछि अर्को नेताहरूको नाम मुछिएपछि प्रधानमन्त्रीसमेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो व्यक्त गरेका छन् । सोमबार बिहान बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले नेताहरूलाई विभिन्न व्यक्तिहरूसँग गर्ने भेटघाटमा सचेत बन्न सुझाएका हुन् ।
अहिले चर्चामा रहेको क्विन्टल सुन तस्करी प्रकरणमा उपमहासचिव वर्षमान पुनको परिवारको नाम जोडिएको छ । यस प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग नेता पुन र उनकी पत्नी ओनसरी घर्ती तथा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले खिचाएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । फोटोसँगै यस प्रकरणमा उनीहरूको संलग्नता भएको आशङ्का गरिएको छ ।
केही समयअघि मात्र भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुल महराको सुन तस्करहरूसँग सम्पर्क देखिएको थियो ।
यसबारे चासो व्यक्त गर्दै बैठक अध्यक्ष प्रचण्डले राखेका कुरा उद्धृत गर्दै एक नेताले भने– ‘विभिन्न मान्छेहरूसँग भेटघाट हुन्छ । तर, उनीहरूसँग भेटघाट गर्दा, तस्बिर खिचाउँदा ख्याल गर्नुहोला । अहिले त्यही तस्बिरलाई लिएर अनुसन्धान नै प्रभावित गर्ने गरी प्रचार हुँदैछ ।’ ती नेताका अनुसार प्रधानमन्त्रीले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरेका छन् ।
यता, नेता पुनले भने ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले आफूसँग जोडेर गरिएको प्रचार प्रति गम्भीर आपत्ति भएको बताएका छन् ।




















प्रतिक्रिया